अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

एनआरएनमा हाम्रो मत कस्का लागि र के का लागि ?

राम लामा अविनाशी २०७४ साउन १४ गते २१:३१ मा प्रकाशित

हरेक २ वर्षमा एनआरएनको चुनाव आउँछ । जित्नका लागि अध्यक्ष देखि सदस्य सम्मले लामा लामा घोषणा पत्र जारी गर्छन् । जुन पढ्दा अब यो चुनाव पश्चात् नेपालमा सरकारनै चांहिदैन जस्तो लाग्छ । अब एनआरएनले नेपालको चौतर्फी विकास गर्छ । अमेरिकाका नेपाली समुदायका सबै खाले समस्या समाधान गरिदिन्छन् जस्तो लाग्छ । प्राय उमेद्बार लेखन कला राम्रो भएका पत्रकारलाई पकेट खर्च दिएर लेख्न लगाउछन् । जितेर गईसके पछि घोषणा पत्र पनि हराउछन् । उनीहरूले के के भनेका थिए भन्ने याद सम्म पनि रहदैन । आँफैले लेखेको भए पो याद हुन्थ्यो । 

गत चुनावले दिलाएका अनुभवले यसपालिको चुनावमा भेरिफिकेसन कमिटी बढी सजग र सक्रिय रह्यो । त्रुटिपूर्ण सदस्यतालाई रद्ध गरियो । गत चुनावमा पनि यस्तो गर्न सकेको भए निर्वाचित अध्यक्षलाई अदालतमा उभिनु पर्ने अवस्था आउने थिएन होला । फर्जी मतले चुनाव जितेको आरोपमा उमेद्बारलाई अदालत लगियो तर फर्जी मत बनाउनेलाई कारबाही गरिएन । फलस्वरुप यसपाली पनि त्यस्ता समूह सकृय भए ।

उमेद्बारसँग पैसा लिएर नक्कली सदस्यता बनाउने काम भए । त्यस मध्य करिब दुई हजार जनाको सदस्यता अस्वीकार भए । हो, कारबाही त यही निर गर्न सक्नु पर्छ । त्यही दुई हजार जनालाई सोध पुछ गरी पत्ता लगाउन सकिन्थ्यो कसले कोसिस गर्‍यो भनेर । उसको उम्मेदवारी रद्ध गर्न सक्नु पर्थ्यो । जो संलग्न भए त्यो गलत कार्यमा उनीहरूलाई कारबाही गर्न सक्नु पर्थ्यो । साच्चिकै सिस्टम् बनाउने हो भने ।

उमेद्बारहरुकै उम्मेद्बारीको क्राईटेरिया बिबादाश्पद हुँदै आईसिसी सम्म पुग्यो । जर्मनीको फ्र्यान्कफर्टमा सम्पन्न एनआरएनको सम्मेलनमा विशेष बहसको विषय बन्यो । विधान विवादित छ भने बेलैमा संशोधन गर्ने कार्य किन हुँदैन ?  विगतमा के कति काम भए एनआरएन अमेरिकाबाट भन्ने कुरा कोट्ट्याउन चाहन्न । कार्यभार सम्हाल्नु पर्ने अध्यक्षलाई अदालत धाउन पर्ने बाध्यताका बिच काम गर्ने उत्साह नजाग्नु स्वाभाविक हो ।

तै पनि, नेपालमा गएको प्रलयकारी भूकम्पले ल्याएको विपत्तिका बेला एनआरएन अमेरिकाका अध्यक्ष लगायतको एउटा टिम नेपालमा गएर बिरामीलाई औषधोपचार गरेको थियो । जुन सर्हानिय छ । तर हवाई जहाज नै चार्टर गरेर नेपाल गएर उद्धारमा कार्यमा खटिएका अन्तर्राष्ट्रिय उद्धारकर्ताहरुको तुलनामा एनआरएन अमेरिकाको सहयोग प्रयाप्त थिएन । नेपाली जनताले त्यो भन्दा धेरै ठुलो आशा गरेका थिए ।

हुन त, एनआरएन आईसिसिले पनि गोर्खाको लाप्राकमा हेलिकप्टरमा गएर टेण्टमा रात गुजार्दै बिहान स्वच्छ हावाका साथ चिया पिउदै गरेको फोटो अप्लोड गर्नु सिवाय के नै देख्न पाइएको छ र ? एकै समयमा सुरु गरेको धुर्मुस सुन्तली फाउण्डेसनले दुईवटा सुन्दर बस्ती भूकम्प पीडितलाई हस्तान्तरण गरेर पनि तेस्रो प्रोजेक्टको तयारीमा छन् । तर नेपाली जनताको बुझाइमा धेरै उपल्लो दर्जामा रहेको एनआरएनबाट भने हातमा लाग्यो शून्य जस्तै भएको छ ।

एनआरएन भवनको भित्ताको ईटामा नाम लेखाउने चाहनामा अमेरिकाबाट पनि हाजारौ डलर चन्दा दियौं । भवन निर्माणको कार्य पूरा भएको समाचार सुन्न लालायित दाताहरुको कानले भवन निर्माणको काममा नेपाल सरकारले रुकावट भयो भन्ने समाचार सुन्नु पर्दा खिन्नता आउनु स्वाभाविकै हो । यस्तो ठुलो संस्थाले नेपाल सरकारले रुकावट गर्ने मौका पाउने काम किन गर्न गर्छ ? एनआरएनले त नेपाल सरकारलाई सतर्क र मार्ग दर्शन गराउन सक्नु पर्ने होइन र ?

नेपालमा उध्योग धन्दाहरु ठप्प छन् । नेपालमा कोटा फ्री सिस्टमको अन्त भए लगत्तै करीब पाँच सय मध्य प्राय गार्मेण्ट उध्योगहरु बन्द भए । लाखौँको सङ्ख्यामा बेरोजगार भए । तत्पाश्चात रोजगारीका लागि हरेक दिन करिब पन्ध्र सय युवाहरू बिदेशिई रहेका छन् । सरकार रेमिट्यान्समा मस्ती गरी रहेको छ । ती रेमिट्यान्स पठाउने मध्यका हरेक दिन जसो कोही न कोही कुनै न कुन देशबाट काठको बाकसमा प्याक भएर लास फर्किन्छन् । उता गाउँ-गाउँमा मान्छे मर्दा लास उठाउने मलामीको अभाव भएको छ । नेपालमा रोजगारी श्रीजना गर्न एनआरएनको भूमिका हुनु पर्ने होइन र ?

अमेरिकी सिनेटर डाँयाना फेन्स्टायनले भुपरिबेष्टित र गरिब मुलुक भएका कारण नेपाली तयारी पोषाकलाई अमेरिकामा भन्सार छुट्को सुविधा दिनु पर्छ भनी अमेरिकी सिनेटमा लबिङ्ग गर्दै आउनु भयो । अन्तमा, भूकम्पले ल्याएको विपत्तिका बेला राहत स्वरूप अमेरिकाले भन्सार छुटको घोषणा गर्‍यो । ६६ क्याटगरीमा छुट दिने निर्णय गर्‍यो । तर अत्याधिक परीमाणमा खपत हुने लेडिज ब्लाउज र मेन्स सर्टलाई सुरुमा दिने भनिएको भएतापनि पछि हटाईयो । यस विषयमा लबिङ्ग गरिदिने कोही भएनन् । यो त एउटा प्रतिनिधि सन्दर्भ मात्र हो ।

ठुलो मात्रामा निर्यात भइरहेका गलैचा र पश्मिना उध्योगहरु पनि ठप्पै भएका छन् । सरकारी खुकुलो नीति तथा सुविधाले उक्त व्यवसाय पनि फेरि जुर्मुराउन सक्छ । तर अमेरिकामा नीति नियम बनाउने तह सम्म हामी नेपालीको पहुँच पुग्न सकेको छैन । जुन काममा एनआरएनको नेतृत्व सफल हुन सकोस भन्ने अमेरिका तथा नेपालका उध्योगी र ब्यबसायीहरुले आशा गरेका छन् । नेपालको विकास अन्तमा एन आर एन कै पहलमा सम्भव हुने छ । जसरी एनआरआईले भारतलाई आर्थिक मन्दीको बेलामा उकासेका थिए ।

नेतृत्व पाएकाहरु आफ्नै आसे पासेका घेरा भित्र मात्र सीमित भए । आफ्नो देश नेपालमा जनयुद्धका बेला ज्यान बचाउन अमेरिका आएर बसेका धेरै बौद्धिक स्तरका व्यावसायिक ब्यक्तित्वहरु पनि हुनुहुन्छ । यही शिक्षा आर्जन गरी ठुलो-ठुलो तहमा काम गर्ने नेपाली बिद्वानहरुको सङ्ख्या पनि कम छैन अमेरिकामा । जसले नेपाल र नेपालीको समस्या र तिनका समाधानका उपाय सम्बन्धी राम्रो दखल राख्नु हुन्छ । खोइ उहाँहरूलाई समेट्न सकिएको ? जसले गर्दा यी बौद्धिक समुदायहरुलाई एनआरएन हाम्रो पनि हो भन्ने महसुस हुन सकेन ।

जुन प्रक्रियाबाट अमेरिकाका लागि राजदुत बनेर आउछन् त्यो प्रक्रियाको खाडल भर्नमा राजदूत लाग्नु स्वाभाविकै हो । त्यसैले उहाँहरूसँग के अपेक्षा गर्नु र । यसै पनि नेपालीहरुमा सरकार प्रति विकास कार्यमा भरोसा नभएकै कारण त एनआरएन प्रति झिनै भए पनि आशा रहेको छ । त्यसैले अमेरिकाको राजनैतिक,सरकारी तथा गैर सरकारी क्षेत्रसँग सुमधुर सम्बन्ध बनाउन सक्ने क्षमताबान व्यक्ति एनआरएनको नेतृत्वमा ल्याउन जरुरी छ । जो शैक्षिक, बौद्धिक र आर्थिक सबै पक्षमा सबल होस् ।