अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

बोको हरामद्वारा १० महिला प्रहरी अपहरित

बिआरटीनेपाल २०७४ असार १५ गते ७:२६ मा प्रकाशित

अबुजा (नाइजेरिया), असार १५ गते । नाइजेरियाको शक्तिशाली आतङ्कवादी सङ्गठन बोको हरामले दशजना नाइजेरियाली महिला प्रहरी अपहरण गरी बन्दी बनाएको छ ।

उनीहरूले ती महिला प्रहरीलाई अपहरण गरी बन्दी बनाएको दाबी गरेका छन् । सो जानकारी सहितको भिडियो उनीहरूले एक स्थानीय पत्रिकालाई उपलब्ध गराएका छन् । उक्त पत्रिकाले बोको हरामले दिएको उक्त भिडियोको बारेमा बिहीबार जानकारी गराएको बताइएको छ ।

आतङ्कवादी सङ्गठन बोको हरामको एक अन–लाइन भिडियो प्रसारणमा पनि दशजना महिला सुरक्षाकर्मीलाई गत हप्ता नाइजेरियाको उत्तरपूर्वी नगर बोर्नोबाट अपहरण गरिएको देखाइएको छ । ती महिला प्रहरीलाई अज्ञातस्थलमा बन्दी बनाइएको भनी अबु बाकर सेकाउको नामबाट परिचित बोको हरामका एक जना नेताले दाबी गरेको दृश्यसहितको समाचार स्थानीय दैनिक पत्रिका द पन्चले बिहीबार प्रकाशन गरेको छ ।

बोको हरामको यस दाबी सम्बन्धमा नाइजेरियाली अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । अबु बाकर सेकाउ नै बोको हरामको नेता रहेका सो समाचारमा दाबी गरिएको छ । यस भिडियोमा पनि उनले बोलेको दिइएको छ । तर सन् २०१४ मा भएको मुठभेडमा सुरक्षाकर्मीको गोली प्रहारबाट उसको मृत्यु भैसकेको नाइजेरियाली सेनाले दाबी गर्दै आएको थियो ।

नाइजेरियामा सन् २००९ देखि सुरु भएको हिंसात्मक विद्रोहमा परी २० हजार भन्दाबढी सर्वसाधारण नागरिकको मृत्यु भएको छ । साथै यस आतङ्कमा परी अन्य २३ लाख भन्दाबढी व्यक्ति बिस्थापित भइसकेका छन् । सन् २०१४ को अप्रिलमा यही आतङ्कवादी सङ्गठनले उत्तरपूर्वी बोर्नो राज्यकै चिबोक इलाकाबासी एक समुदायका दुइसय भन्दाबढी छात्रालाई विद्यालयबाटै अपहरण गरी बेपत्ता पारेको थियो ।

नाइजेरियाली सुरक्षाकर्मीले ती अपहरित छात्रामध्ये हालसम्म एकसय छ जनालाई मात्र मुक्त गर्न सकेको छ । बोको हरामका कम्तीमा एकहजार चारसय जना संदिग्ध लडाकूलाई नियन्त्रणमा लिई नाइजेरियाको उत्तरपूर्वी इलाकामा बन्दी बनाएर राखिएको जनाइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू