अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

नेपालको विकासका आधारशिलाहरु

राम लामा अविनाशी २०७३ फागुन १६ गते १८:३३ मा प्रकाशित

नेपाली निर्यात कर्ताहरुले तयारी पोशाक समेत ६६ वस्तुहरू अमेरिकी बजारमा भन्सार तथा कोटा रहित सुविधामा निकासी गर्न पाउने सुविधा प्राप्त गरेका छन् । अमेरिकी सरकारले आगामी १० वर्ष अर्थात् सन् २०२५ सम्मका लागि दिएको यो सुविधा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालको अन्त्यतिर हस्ताक्षर गरी कार्यान्वयनमा ल्याइदिएका छन् । अमेरिकाले दिएको यो सुविधाको पूर्ण नेपालले उपभोग गर्न सक्छ कि सक्दैन भन्ने सम्बन्धमा आशंकाहरु पनि विद्यमान छन् तर नेपाल यसको भरपुर उपयोग गर्ने आधारहरु सिर्जना गर्नेतर्फ उन्मुख देखिन्छ ।

सन् १९९० को दशक नेपाली तयारी पोशाक उद्योगका लागि स्वर्णकाल थियो । सन् २००५ को जनवरी देखि कोटा प्रणालीको समाप्तिसँगै नेपालले अमेरिकी बजार गुमाएपछि यो उद्योग धराशयी बन्न पुग्यो । तयारी पोशाक निर्यातमा त्यही स्वर्णकाल दोहोर्याउन नेपालले विगतको अनुभवबाट पाठ सिक्नुपर्छ । कोटा प्रणाली अन्त्यसँग नेपाली तयारी पोशाकले अमेरिकी बजार गुमाउनुको कारण प्रस्ट छ — नेपाली तयारी पोशाक अन्त्य देशका उत्पादनको तुलनामा प्रतिस्पर्धी छैन । प्रतिस्पर्धी नहुनुको कारण हाम्रो भूपरिवेष्ठीत अवस्थितिका कारण ढुवानी तथा पारवहन लागत उच्च हुनु हो तर यही कारणले मात्र हामी प्रतिस्पर्धी हुन नसकेको भने होइन । हामी कहाँ श्रम समस्या देखि विद्युत् अभाव चन्दा आतङ्क, बन्द हड्तालका कारण अन्य उत्पादनमूलक उद्योग जस्तै तयारी पोशाक उद्योग पनि धराशयी भएको हो । आज विश्वभर तयारी पोशाक निर्यातमा प्रतिस्पर्धा गरिरहेका बङ्गलादेश, कम्बोडिया, चीन जस्ता मुलुकको तुलनामा नेपालको प्रतिस्पर्धी उत्पादन क्षमता बढाउन के पहल भएका छन् भनेर विश्लेषण गर्ने हो भने विगतका दुई दशक उद्योग धन्दाका लागि प्रतिकूल अवस्थाका कारक रहे । देशमा अस्थिरता र द्वन्द्व हुँदा लगानीको वातावरण तयार हुन सकेन । यदि देशमा लगानी अनुकूल वातावरण भएको भए १९९० को दशकमा नेपालबाट तयारी पोशाक आयात गर्ने वालमार्ट, के मार्ट, जेसी पेनी जस्ता स्टोरहरुले कोटा सुविधाको अन्त्य पछि पनि नेपाली उत्पादन सामान्य महँगो हुँदैमा किन्न छाड्ने थिएनन् होला ।

द्वन्द्व, राजनीतिक अस्थिरता, बन्द हड्ताल, चन्दा आतङ्क, श्रम समस्या, विद्युत् कटौती जस्ता सबै कारकहरुले हाम्रो उत्पादन लागत यति धेरै महँगो भयो कि हामीले अमेरिकामा भन्सार तिरेर तयारी पोशाक उत्पादन गर्ने कल्पना पनि गर्न सक्दैनौं । जबकि दक्षिण एसियाली हाम्रो छिमेकी बङ्गलादेशले धेरै सस्तो लागतमा तयारी पोशाक उत्पादन गर्छ । फलतः उसको उत्पादन निर्यात गन्तव्यहरुमा पनि सस्तो दरमा उपलब्ध हुन्छ । बङ्गलादेशमा ‘कार्गो एम्बुलेन्स’ (निर्यात कार्गोलाई एम्बुलेन्स सरहको बेरोकतोक आवतजावतको सुविधा दिने) चलन छ, जो हामीजस्तो हरेक साता, महिनादिनमा नेपाल बन्द आयोजना भइरहने नेपालमा सायदै कल्पना गर्न सक्छौँ ।

आजको विश्वव्यापी बजारमा गुणस्तर र लागत प्रभावी वस्तुहरू विश्वभर पुगेका छन्, यस्तो अवस्थामा पनि हामीले विश्वको ठुलो अर्थतन्त्र अमेरिकाबाट भन्सार र कोटारहित सुविधामा तयारी पोशाक लगायत वस्तु निकासी गर्न पाउने सुविधाले हाम्रो अर्थतन्त्रलाई ठुलो टेवा पुग्न सक्छ, यसकारण पनि हामीले यो सुविधाको भरपुर उपयोग गर्न हरतरहका सबै कोसिसहरु गर्नुपर्छ । आज अमेरिकाले दिएको यो सुविधाको जगमा हामीले तयारी पोशाक उद्योगमा विदेशी लगानी भित्र्याउन सक्ने प्रबल सम्भावनाहरू छन् । यो जगमा हामीले नेपालमा तयारी पोशाकको बलियो आधार बनाउन सक्यौं भने भोलि अमेरिकी सुविधाको समाप्तिपछि पनि अमेरिकी बजार र अन्य बजारहरुमा भन्सार तिरेरै निर्यात गर्न सक्ने प्रतिस्पर्धी क्षमताको विकास गरेर तयारी पोशाक उद्योगलाई दीर्घकालका लागि टिकाउन सक्छौँ । देशमा उद्योग धन्दा चलिरहनु भनेको श्रम गर्नका लागि नेपालीले मध्यपूर्व र खाडी देशहरूको मरुभूमिमा पसिना चुहाउन जानुपर्ने बाध्यताको अन्त्य पनि हो ।

तयारी पोशाक निर्यातका लागि कच्चा पदार्थको आयात गर्नैपर्ने बाध्यता छ । कच्चा पदार्थ आयातसँगै तयारी पोशाक उद्योगका लागि चाहिने अन्य सहायक उद्योगहरु धागो उद्योग, डाइङ, बटन लगायतका उद्योगहरु पनि जन्मछन् । जसले थप रोजगारीका अवसरहरू देशभित्रै सिर्जना गर्छन् । आज नवीनताका कारण कतिपय वस्तुहरुमा क्रेताले मूल्यलाई मात्र सबैथोक मान्दैन । अमेरिकामा नेपाली फेसन डिजाइनर प्रबल गुरुङजस्ता हस्तीहरु समेतको सहयोग लिएर नेपाली तयारी पोशाकलाई नवीन सोच, डिजाइनहरुतर्फ मुखरित गर्दै भोली यसमा अभिवृद्धि हुने मूल्यको लाभ लिदैं नेपालले निर्यातबाट बढी लाभ हासिल गर्न सक्छ ।

उत्पादन बढाउन, कामदारको दक्षता अभिवृद्धि गर्न, नवीनता र नयाँ डिजाइनहरुका लागि हामीलाई लगानी पहिलो सर्त हो । अमेरिकाले नेपालको भूकम्प र नाकाबन्दीले पुगेको आर्थिक क्षति पुनस्र्थापनाका लागि सहयोग होस् भनेर अमेरिका निर्यातमा केही वस्तुलाई भन्सार तथा कोटा रहित सुविधा दिनु उसको सद्भाव हो तर लगानीकर्ताले भने त्यस्तो सद्भाव राखेर लगानी गर्दैन । लगानीकर्ताले लगानीको सुरक्षा र प्रतिफल हेर्छ, त्यस कारण लगानीको सुरक्षा र प्रतिफलका लागि वातावरण तयार गर्न सरकारको जिम्मेवारी हुन आउँछ । आज विश्वका सबैजस्तो अर्थतन्त्रहरु प्रतिस्पर्धामा छन् — लगानीकर्ताहरुलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न । विदेशी — स्वदेशी लगानीकर्तालाई कर छुटदेखि बहुराष्ट्रिय कम्पनीहरूलाई सस्तो लागतमा उत्पादन गर्न सक्ने विश्वास दिलाउने कूटनीतिले पश्रय पाउँदै गएको छ । नेपालमा पनि अहिले केही सकारात्मक पहलहरू पनि सुरु भएका छन् । नेपालमा लगानीको वातावरण बनाउन, नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन, आयातमा बढ्दो पर निर्भरता कम गर्न । नेपालले पनि निकट भविष्यमा ‘लगानी सम्मेलन’ आयोजना गर्दैछ । लगानी सम्मेलनबाट लगानीको वातावरण निर्माण गर्न भएका प्रयासहरू विश्वभर प्रचार भई लगानी भित्र्याउने अभियानमा थप मद्दत पुग्न जाने अपेक्षा गर्न सकिन्छ ।

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न अहिले केही नयाँ कानुनहरू ल्याइएका छन् । केही संशोधन सहित जारी हुने चरणमा छन् । कुनै पनि लगानीकर्ताले लगानीको वातावरण हेर्दा सबैभन्दा पहिले त्यो देशको लगानी सम्बन्धी कानुन हेर्छ, कर्मचारीको कार्यसम्पादन क्षमता, राजनीतिक स्थिरता, भ्रष्टाचारको अवस्था, लगानी गरेर कमाएको प्रतिफल फिर्ता लैजान सक्ने व्यवस्था हेर्छ । लगानीको सुरक्षा, लगानी राष्ट्रियकरण नहुने सरकारको प्रतिबद्धता तथा उत्पादन लागतको अवस्था जस्तो ढुवानी पारवहन लागत, श्रम ज्याला अन्य किसिमबाट सिर्जना गरिने अतिरिक्त लागत सबै हेरेर मात्र लगानी गर्छ । अहिले त अझै बौद्धिक सम्पत्तिको संरक्षणको मुद्दा पनि पेचिलो बन्दै गएको छ ।

लगानी वातावरण सुधार गर्न वर्तमान उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलकदमी प्रशंशायोग्य छ । लामो समयदेखि जारी हुन नसकेका विशेष आर्थिक क्षेत्र ऐन, औद्योगिक व्यावसाय ऐन संसद्बाट अनुमोदन गराउन उद्योगमन्त्रीको विशेष भूमिका रहेको छ । त्यस्तै, उहाँले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐन, बौद्धिक सम्पत्ति सम्बन्धी कानुनमा सुधार, लगानीकर्तालाई सुविधा प्रदान गर्न उद्योग विभाग, कम्पनी रजिष्ट्रार कार्यालयहरूमा सुधारको प्रक्रिया अघि बढाउनुभएको छ । त्यस्तै, उर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धताका साथ त्यसलाई क्रमशः व्यवहारमा पनि कार्यान्वयन गरेर देखाउनुभएको छ । औद्योगिक उत्पादन बढाउन कानुनी वातावरणजस्तै ऊर्जाको दिगो आपूर्ति पनि अनन्य सर्त हो । यी केही सकारात्मक पहल कदमीले उत्पादन क्षमता वृद्धि भई नेपालको अर्थतन्त्रमा थप सुधारको अपेक्षा गर्न सकिने आधारहरु सिर्जना भएका छन् ।

यसै गरी सबै सरकार निकाय तथा निजी क्षेत्रले पनि एकतावद्ध प्रयासबाट देशभित्र लगानीको वातावरण निर्माण गर्नुपर्छ । अहिले उत्पादन क्षमताकै अभावमा हामी औद्योगिक वस्तुमात्र होइन, कृषि वस्तु समेतका लागि आयातमा निर्भर हुँदै गइरहेका छौँ । औषधीदेखि ऊर्जासम्म आयात भइरहेको छ । भर्खरैमात्र उद्योगमन्त्री जोशीले नेपाल औषधी लिमिटेड तथा हेटौंडा कपडा उद्योग समेत पुन र्जीवित गराउने उद्योगमन्त्री जोशीको यो जोसिलो अठोट र नेपाललाई हरेक वस्तुमा परनिर्भर राख्नु हुँदैन भन्ने सोचलाई हामी सबैले सम्मान गर्नुपर्छ । यस्तै अठोट र प्रतिबद्धताहरु आगामी दिनमा थप सशक्त भएर नेपालले आर्थिक संवृद्धिको दिशामा फड्को मार्न सकोस् ।

(* लेखक अमेरिका नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष हुनुहुन्छ ।)