अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

एन.आर.एन. को अग्नी परीक्षामा डा. प्रमोद ढकाल

डा. गोबिन्दसिंह रावत, क्यानडा २०७३ फागुन १३ गते २२:३७ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ भनेर नामाकरण गरेर एनआरएन भनेर चिनिने नेपालबाहिरका नेपालीहरूको साझा क्लब एघारौँ वर्षमा प्रवेश गरेको छ । यो एघर वर्षमा चारजना संरक्षकका रूपमा अध्यक्ष पाएको एनआरएनले नेपाल मूलका विदेशी नेपालीहरूका लागि के गरे त । नेपालबाहिर काम गर्न आएका अस्थाई रूपमा बसोबास गर्ने नेपालीहरूका लागि स्थापना भएको हो वा नेपाल छाडेर विदेशमा स्थाई रूपमा बसोबास गर्ने नेपालीहरूका लागि अथवा दुवैका लागि स्थापना भएको संस्था हो । एनआरएनको विषयमा लेख्नेहरुको मगजमा एउटा प्रश्न सधैँ आउने गर्दछ । एनआरएन कसको लागि खोलिएको हो । नेपालबाहिर काम गर्न आएका अस्थाई विदेशी र नेपाल छाडेर विदेशमा बसोबास गरेका स्थाई नेपाली विदेशीको हितको लागि कि व्यापारीहरुको व्यापार गर्ने साझा चौतारी बनाउनका लागि खोलिएको हो । प्ररम्भदेखिनै धेरैले एनआरएनलाई व्यापारीहरुको लागि खोलिएको एनआरएन क्लबका रूपमा चर्चा गरिएको पनि पाइएको छ । एनआरएनले सधैँ लगानीको कुरामात्र गर्छ भन्ने गुनासाहरु पनि लेखिएको र सुनिएको छ । तर एनआरएनले आफूलाई नेपालबाहिर बसोबास गर्ने अस्थाई नेपाली र स्थाई नेपाली दुवैलाई सङ्गठित गरेर नेपाल राष्ट्र बनाउन खोलिएको संस्था भन्दै आएको छ । अहिलेसम्म लगानीको क्षेत्रमा बैङ्क, हाईड्रे प्रोजेक्ट, होटेल आदि विभिन्न क्षेत्रमा एनआरएनको लागानी देखिन्छ । तर मातृभूमिको सेवा आर्थिक लगानीबाट मात्र नभएर बौद्धिक लगानीबाट पनि गरिनु पर्छ । यस तर्फ स्थापनाकालदेखि नै क्यानाडाका नरेश कोइरालाले पुस्तकालय परियोजनाको अवधारणा ल्याउनु भएको थियो । त्यो कहाँ पुग्यो ? कति जिल्लामा पुस्तकालय खोलियो ? त्यो जान्न पाए हुन्थ्यो ।

एनआरएनमा बढी चिठ्ठे र शरणेहरु हाबी हुँदै गइरहेका छन् । जसलाई नेपाल जानबाट बन्देज छ ऊ नै उफ्री उफ्री एनआरएनको वकालात गर्दै सदस्यता बढाउँदै हिडेको देखिन्छ । अझ नेपाल जान बन्देज पाएकाहरु नै नेपाल सरकारको प्रतिनिधि बनेर विदेशमा जधौं खान कुरी रहेको देखिन्छन् । अहिलेको सन्दर्भमा एनआरएनमा राजनीतिकरणले अधिपत्य जमायो भन्ने गुनासोहरुले अर्को ठट्यौंली चटक देखाएको छ । हामी सबै राजनीतिक पीडित हौँ भन्दा अतिशयोक्ती नहोला । यही पीडाले धेरैले देश छोड्नु पर्‍यो । नछोडेकाहरु छोड्ने मौका कुरेर बसेका छन् । छोड्न असफल भएकाहरु राष्ट्रप्रेमको गाथा अलापेर आफ्नो असर्मथता लुकाउने प्रयास गर्दै छन् । कोही पनि स्वेच्छाले रमाउन भनेर विदेश पक्कै आएका छैनन् । कटुवालले भनेझै बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु , आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु जस्तै भएर नेपालीहरू सङ्घर्ष र बलिदान दिएर देशमा दुईपटक प्रजातन्त्र आयो । तर दुवैपटक जनता ठगिएमात्र । देशमा रोजगारी घट्दै गएको छ भने भोकमारी बढ्दै गएको छ । कलकारखानाहरु सबै नेताहरूले बेचेर कमिसन खाएर पनि सिद्धाइसके । अब देश बेच्ने तरखरमा लागेका छन् । रोजगारीको लागी भौंतारिएका युवाशक्ती बिस्तारै बिस्तारै देशबाट पलायन हुँदै गइरहेका छन् । राणाकालमा नेपाली युवाहरूलाई बेलायती सेनामा पठाएर प्रति टाउँकोको कर लिने गरेझै अहिलेको गणतान्त्रिक नेपालका शासकहरु युवाहरूलाई विदेशी कामदार बनाएर पठाउदै रेमिटेन्सबाट आफ्ना तलब, भत्ता, उपचार खर्च, विदेश भ्रमणसँगै देश चलाइरहेका छन् ।

सत्ताको लडाइमा पिल्सिएर अहिले देश झन् झन् जिर्ण हुँदै गएको छ । उद्योगधन्दा र कलकारखानाहरु एकपछि अर्को गर्दै बन्द हुँदै गएका छन् । जताततै राजनीतिक भागबण्डाले अधिपत्य जमाउँदै गइरहेको छ । देश विकासभन्दा बढी सत्ताको जोडघटाउँमा रुमल्लिरहेको छ । विदेशका अस्थाई रूपमा बसोबास गर्दै आएका गैर आवासीय नेपालीहरू आफ्नो स्थायित्वका उपाय खोजिरहेका छन् । आफ्नो पहिचान बनाउन नेपाली संस्थाबाट सहयोगको अपेक्षा राख्दै आएका छन् । स्वघोषित सबै संस्थाहरूको माउँ बन्न खोजेको एनआरएनले भने उनीहरूको स्थायित्व र अस्तित्वका लागि बोलेको कहिल्यै सुनिएन । तर चन्दा उठाउनुमा भने सबैभन्दा पहिला अघि बढेको पाइन्छ र चन्दा उठाएपछि त्यसको हिसाब देखाइएको पाइदैन । भुईचालोमा कति चन्दा उठ्यो भनेर न त केन्दले भन्यो न यहाँको राष्ट्रिय समन्वय समितिले नै भन्यो । पीडितहरुका लागि तत्काल घरनै बन्यो । त्यो उठेको चन्दाको रकम धुर्मुस र सुन्तलीको फण्डमा गएको भए अहिलेसम्म बार्पाकमा पनि घर बनी सक्थ्यो ।

भर्खर एउटा लेखमा एक जना लेखकले एनआरएनलाई धनीहरुको क्लब भनेर व्याख्या गरेका थिए भने अर्को एक जना लेखकले व्यापारीहरुको खेती भनेर चर्चा गरेका थिए । वास्तवमा एनआरएन भनेको व्यापारीहरुको संस्था भन्दा अत्युक्ती नहोला । किनभने तपाईँ हामी जस्तो श्रमजीविहरुले एनआरएनको भारी पद ओगट्न सक्दैनौं । हामी चुनावी दौडमा विदेश भ्रमण गर्न पनि सक्दैनौं । शौकको लागि यो संस्थामा गएर शौक पुरा गर्नु भनेको बेग्लै कुरा हो । वास्तवमा धेरैले शौककै लागि एनआरएनमा संलग्न भएको देखेको छु । एउटा मुलुकको समन्वय समितिको अध्यक्ष भएर बसेको मान्छे राष्ट्रि समन्वय समितिको उपाध्यक्ष आउँदा काम छोड्न नमिलेर अनुपस्थित भएको देखेको छु । झन् एउटै मुलुकको एक सहरबाट अर्को सहरमा कार्यक्रम आयोजना हुँदा कार्यकारिणीमा बसेकाहरुको अनुपस्थिति र आयोजकहरुको मात्रै उपस्थ्तिि रहने गरेको देखिन्छ । एनआरएनले आयोजना गरेको कार्यक्रममा मेरै सहरमा एनआरएन पदाधिकारीहरू देखिदैनन् । अझ कतिपयलाई त एनआरएनको सदस्य बन्ने फोबियानै लागेको हुन्छ र वर्ष बिराएर फेरी सदस्य बन्ने गर्छन् । काम भने गंगाराम । कसैलाई आफ्नो इमेलको पुछारमा नामको मुन्तिर भूतपुर्व एनआरएनको फलानो लेख्ने रहरले पनि एनआरएनसँग टासिन खोज्छन् । सुनिन्छ एनआरएनको सदस्य भएपछि आफन्तलाई कुनै कार्यक्रमको निहुमा एनआरएनबाट निम्तो पठाउनका लागि पनि सदस्य बन्ने रहर जागेर आउँछ रे । यस्तो भएको पनि छ देखिएको पनि छ । त्यसैले एनआरएनमा सही नेतृत्वको कमी दिन प्रतिदिन बढ्दै गइरहेको छ । एनआरएनमा भीड छ तर भर छैन ।

भर किन छैन त . अहिले प्रसङ्ग चलेको छ नयाँ खुला विश्वविद्यालयको स्थापना र नयाँ उपकुलपतिको चयन । खुला विश्वविद्यालयको अवधारणा क्यानाडाबाट सुरु भएको थियो । यसका तीन अभियन्ताहरु थिए । डा. प्रमोद ढकाल, डा. द्रोण रसाली र डा. अम्बिका अधिकारी । यसको जग हाल्ने काम वहाँहरुबाटै भएको थियो भने २०१० मा ह्ुस्टन, अमेरिकामा भएको सेमिनारमा यिनै तीन यसका अभियन्ताहरुले खुला विश्वविद्यालयका बारेमा विशेष क्षलफलसमेत गराएका थिए । त्यहीँबाट खुला विश्वविद्यालयको अवधारणले मूर्त रूप पाउन थालेको थियो । यसलाई सकारात्मक रूपमा परिणत गर्न यसका एक अभियन्ता डा. प्रमोद ढकाल आफूले कमाउँदै गएको प्रतष्ठिालाई नै दाँउमा लगाएर विह्वविद्यालयमा अध्यापनको जागिर छोडेर निस्स्वार्थ खुला विश्वविद्यालयको स्थापनाका लागि काम गर्दै आईरहनु भएको थियो । तर अचानक नेपाल सरकारले डा. ढकालको नाम बिनाको भावी खुला विश्वविद्यालयका सम्भावित उपकुलपतिहरुको नाम सार्वजनिक गरेपछि नेपालबाहिरका नेपालीहरूका बिच चहलपहल सुरु भयो । खुला विश्वविद्यालयका लागि अथक परिश्रम गर्दै आउनु भएका डा. ढकालप्रति डायस्पोरिकलहर देखियो । वास्तवमा खुला विश्वविद्यालयको पहिलो उपकुलपतिका लागि सही व्यक्ति डा. ढकालनै हुन भन्दा अभिशयोक्ति नाहोला । तर के गर्ने काम गर्ने कालु मकै खाने भालु भन्ने उखान पनि हामी नेपालीहरुकै हो क्यारे ।

डा. प्रमोद ढकाललाई उपकुलपति लिन मिल्छ कि मिल्दैन । मिल्दैन भने किन मिल्दैन । भन्ने प्रश्नको जबाब हो उनी एनआरएन नभएर पी.ओ.एन. परे । अर्थात् उनी नेपाली राहदानी बोकेर विदेशमा बस्ने, काम गर्ने, व्यापार गर्ने नभएर नेपालको विदेशी भएर विदेशी राहदानी प्रयोग गर्ने व्यक्ति परे । संविधानले एक पटक नेपालको नागरिक त्यागेका नेपाली मूलका व्यक्तिलाई पुनः नेपाली नागरिक बन्नका लागि केही प्रावधानहरु राखेको छ । यसबारे एनआरएन मौन भएर बसेको छ । एनआरएनको महासचिव भएको व्यक्ति राजदूत हुन पाउछ, पर्यटक दूत हुन पाउछ । नेपालमा सम्पत्ति जोड्न, व्यापार गर्न, बैक खोल्न र पैसा राख्न पनि पाउछ । तर नेपाली मूलका विदेशी राहदानी लिएकाहरुलाई यी सब कुराबाट वञ्चित गरिएको छ । अझ भनौं वञ्चित गरिएको रहेछ भन्ने यथार्थ डा. प्रमोदको घटनाले देखाएको छ । एनआरएन भएका व्यक्तिले चाहेको बेला विदेश र नचाहेको बेला नेपालमा आरामसँग ससम्मान बस्न पाउछन् ।

उदाहरणका लागि समाजमा प्रतिष्ठा पाएकाहरुको नाम लिन सकिन्छ । करिश्मा मानन्धर, सरोज खनाल, रवि लामिछाने । अझ मीरा राणाले त गत चुनावमा राप्रपाबाट टिकट पाएर चुनाव पनि लडेकी थिइन भने हरिबहादुर थापाले सङ्गीत नाटक प्रज्ञाप्रतिष्ठानको सभासद् भएर एककाल कटाएका थिए । हुन त डा. मिनेन्द्र रिजाल त मन्त्रीसम्म भएका थिए । यो अधिकारले दिएको कुरा हो कसैले राकेर रोकिदैन क्यारे । तर डा. प्रमोद ढकालको कुरा भने अर्कै पर्‍यो ।

अब भनौै एनआरएन कसको लागि हो भनेर । नेपाली राहदानी बोकेर विदेशमा केही समय बिताउने गैर आवासीय नेपालीको हो कि देश छोडेर विदेशलाईनै आफ्नो भूमि मान्ने विदेशी राहदानी बोकेर नेपालको लागि सधैँ सहयोग गर्न तम्सने विदेशका नेपालीहरूको लागि खोलिएको संस्था हो ।

एनआरएन केन्द्रले डा. ढकालको बारेमा केही बोलेको छैन । एनआरएन केन्द्रले न त यसअघि त्रिविविले पेन्सन पकाएर विदेशमा बस्ने प्राध्यापकहरुको पेन्सन नदिने भनेर घोषणा गर्दानै केही बोल्यो । विदेशमा बस्ने नेपाली मूलका विदेशी नेपालीहरूले जवानीभर शिक्षा बाडेर बुढेसकालमा पेन्सन पाकेपछि विदेशिएका छोराछोरीको शरणमा पुगेका हुन्छन् । सरकारी पेन्सनले खान पुग्दैन भने बुढेसकालमा बिरामीको उपचारको खर्च कताबाट ल्याउने । घर नभएकाहरुले पाएको पेन्सनबाट घरभाडा तिर्न सक्दैनन् । जाडोमा गरिबले ओढ्ने छोटो च्यादर जस्तै हुन्छ पेन्सनको रकम । खुट्टा छोप्दा टाउर्को छोप्न नपुग्ने र टाउको छोप्दा खुट्टा देखिने । त्यसमा पनि सरकारको गिद्द दृष्टि । विदेशमा बसेका छोराछोरीले सित्तैमा औषधी पाउनका लागि वृद्ध आमाबुवालाई नागरिकता बनाउन करै लाग्छ । यो समस्याको हल के हो । कता छ यिनीहरूको एनआरएन । नेपालबाट तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालबाट विदेशमा स्थाई बासिन्दा भएर बसेकाहरु अर्थात् ग्रिन कार्ड र पी.आर. कार्डवाहकहरुलाई उनीहरूले पाउने पेन्सन नदिने र उनीहरूलाई नेपाल आउन नदिने भनेर घोषणामात्र गरेनन् । कार्यान्यन गर्न सदमबाट पनि पारित गराए त्यसेबला पनि एनआरएन केन्द्र बोलेन ।

त्यसो भए एनआरएन के हो त ? कपासे मिठाई (कटन केण्डी) । हेर्दा खाउँ खाउँ लाग्ने, खानासाथ बिलाउने । तर पनि यसका पछि सबै लागेका छन् । क्षमता भएकाहरु टाढिदै गएका छन् । अझ राजनीतिको झन्डा बोकेर खुलेआम एनआरएनमा लाग्नेहरुले गर्दा एनआरएन अहिले विदेशमा खोलिएको नेपाली संस्था जस्तै भएको छ । त्यसैले अब यसबारे गम्भीर भएर सोचिएन भने भोलि एनआरएनको नेतृत्व गर्नेहरुलाई गाहे पर्न सक्छ । यहाँ एक जना डा. प्रमोद छैनन् । हजारौँ डा. प्रमोद राष्ट्र सेवा गर्न तम्सिएका छन् । तर ढोका कसले खोली दिने

प्रतिक्रिया