अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 13:48

कविता शक्ति: खुर्पाको बीड कि श्रीखण्ड

डा. गोबिन्दसिंह रावत, क्यानडा २०७४ चैत ९ गते २३:१० मा प्रकाशित

केही समयअघि फेसबुकमा एउटा कविता छापिएको थियो । त्यस कविताका बारेमा धेरैले आआफ्नो प्रतिक्रिया लेखे । कविता सटिक थियो त्यसैले चर्चा पायो । त्यसको केही समयपछि त्यहीँ कविताको विरोध गर्दै फेसबुकमा केही अपवाक्यहरु लेखिए । त्यसमा पनि धेरैले कविता ठिक भएन भनेर आआफ्नो प्रतिक्रिया लेखे र त्यमा पनि लाइक गर्दै ठिक हो ठोके । लाइक गर्नु र ठिक हो ठोक्नु फेसबुकको परम्परा हो । तर नबुझेर ठोक्नु व्यक्तिमा रहेको विशेषताको पहिचान हो । त्यसमा मलाई भन्नु केही छैन । तर कवितालाई बुझ्दै नबुझी विरोध गर्नु भनेको सिर्जनाको अपमान हो । कविताको विरोध गर्नेले कविता बुझेर विरोध गरेका हुन वा हैनन् र विरोध ठिक हो भनेर प्रतिक्रिया दिनेले पनि कविता पढेर बुझेर लेखेका हुन वा हैनन् दैव जानुन ।

वास्तविकता नबुझि कागले कान लग्यो भनेर कसैले भन्दा आफ्नो काननै नछामि कागको पछि दौडनु हुँदैन । कविताको आफ्नो बेग्लै शक्ति हुन्छ । जसलाई ठुला ठुला शासकले पनि पराजित गर्न सक्दैनन् । क्रान्ति बिना शान्ति छैन भनेर कविता लेख्ने युग कवि सिद्धिचरण श्रेष्ठलाई राणाहरूले जेलमा कोचि दिएका थिए । किनभने राणाको विरोधमा लेखेकोले राणहरुले कोचि दिए । मकैंको पर्व कृतिलाई राणा विस्द्ध लेखिएको भनेर उजुरी गरेपछि सुब्बा कृष्णलाल अधिकारी जेल चलान गरियो । ९ वर्षको सजाय पाएका अधिकारीको मृत्यु तीन वर्षमा नै जेलभित्र भएको थियो । यो पुस्तक सन् १९२० मा नेपाली भाषा प्रकाशिनी समितिले छाप्ने स्वीकृति दिएपति मात्र १००० प्रति छापिएको थियो । तर कसैले चाकरी बजाएर राणा विरुद्धमा लेखिएको भनेर राणाहरूलाई सुनाएपछि यसको ९९९ प्रति तुरन्तै जफत गरेर जलाइएको थियो र एकप्रति अहिलेसम्म पनि कता छ कसैलाई थाहा छैन ।

राणाकालमा कवि लेखकहरूले कवितामा राणाहरूको विरोध गर्ने गरेकोले सजायबाट बच्न भारतमा लुकेर बस्नु परेको थियो । कविताले सत्य बोल्छ र त्यो सत्य अपच हुनेहरु कविताको त्यसरीनै विरोध गर्छन् जसरी राणाहरूले गरेका थिए । पञ्चायतकालमा पनि राजाका विरुद्ध कविता लेखिँदा सजायको भागिदारी बन्नु प¥थ्ये । धेरैनै समकालीन कविहरू कविता लेखेर अञ्चलाधीश कार्यालय धाएको म अझै सम्झन्छु । २०४६ सालको जन आन्दोलन सुरु गर्ने क्रममा हामीले पञ्चायती व्यवस्थाका विरुद्ध वसन्तको खोजी कविता सङ्कलन प्रकाशित गरेका थियौँ । प्रकाशनको केही समयपछि नै यो सङ्ग्रह जफत गरियो र यसमा समावेश भएका कविहरूको नाममा पूर्चि पनि काटियो । तर मेरो हातमा थुनापूर्चि आउनुअघि नै देशले प्रजातन्त्र पाइसकेको थियो । त्यसमा सङ्कतिल कविताले राजतन्त्र र पञ्चायत कालको वास्तविक विसङ्गतिलाई शाब्दिक प्रहारबाट उदाङ्गो पारिदिएको थियो । त्यसैले राणाहरूले जस्तै पञ्चेहरुले पनि त्यसको विरुद्धमा मोर्चा बनाए । दुवै सत्ताधारी नराम्रो काम गर्ने र त्यसको विरोध गर्दा मार्न खोज्ने प्रवृत्ति अहिलेसम्म रहेको देखिन्छ । मलाई लाग्छ अहिले फेसबुकमा देखा परेको कविता विरुद्धको मोर्चा राणा र पञ्चायत जस्तै होला ।

केही वर्षअघि मैले पनि सानो सङ्ख्यामा रहेको नेपाली समुदायको नाममा एकपछि अर्को संस्था खोलेर संस्थाहरूमा देखा परेको विसंगतिलाई औंलाएर आऊ हामी संस्था संस्था खोलौँ शीर्षकको कविता वाचन गर्दा त्यसको विरुद्धमा पनि कवितै लेखेर विरोध भएको सम्झना आलै छ । म खुसी छु । विरोधमा भए पनि एउटा नयाँ कविताले जन्मने मौका त पायो । सकिन्छ भने कविताको विरोध कविताबाटै गरौँ । फलामले फलाम काटे झैँ सिर्जनाले सिर्जनालाई काटौँ न । जब जब समाजका विसंगतिहरु जन्मन्छ तब तब साहित्यले त्यसको विरोध गर्छ भन्ने कुरा परापूर्व कालदेखि नै मानिँदै आएको छ । त्यसैले साहित्यलाई समाजको दर्पण भनिएको हो । प्रारम्भमा समाजलाई सुसूचित गर्ने माध्यम भनेको नै काव्यात्मक प्रक्रिया हुने ग¥थ्यो । लोक गीत, नृत्य, नाटक आदि सबै माध्यमले सामाजिक परम्परालाई विषयवस्तु बनाएर प्रचारप्रसार गर्दै आएको थियो । यस्ता प्रस्तुतिहरूले सामाजिक विसंगतिलाई पनि उदाङ्गो पारेर समाजलाई सुसूचित गर्दै आएको थियो । यो साहित्यको कर्तव्य हो भने साहित्यकारको दायित्व हो । श्रुति परम्पराबाट लेख्या परम्परामा आएर आज डिजिटल प्रणालीमा परिणत भएको हाम्रो साहित्यले रङ्ग र रूप फेरे पनि गुण भने फेरेको छैन । आज पनि साहित्यले सत्यको निरूपण गरेको हुन्छ । यस्ता हजारौँ उदाहरण भेटिन्छन् ।

कविता कसैका लागि शब्दहरूको पुष्प हुन सक्छ भने कसैका लागि शब्दहरूको बाण । यहाँ कविताको शक्तिको बारेमा मैले सुनेको एउटा कथा बिसाउन मन लाग्यो:
विद्यालयमा पढ्दा साहित्य पढाउने एक जना शिक्षकले कविताको शक्तिको बारेमा भनेको कुरा आज मैले सम्झनु परेको छ । एकादेशमा एउटा राजा थिए । उनलाई कविता सुन्ने रहर थियो । राजाले आफ्नो दरबारमा कविता भन्न चाहने जो कोही प्रजालाई पनि स्वागत गर्थे । दरबारमा राजाले कविता सुन्ने गरेको र नराम्रो कविता सुनाउनेलाई सजायबापत दरबारमा काम गर्न लगाउने गर्थे । राम्रो कविता सुनाउनेलाई पुरस्कार पनि दिने गर्थे । त्यही देशको एउटा गाउँमा गंगाराम भन्ने अल्छी कामै गर्न नचाहने मान्छे थियो । घरमा विधुवी आमासँग बस्दै आएका गंगारामलाई आमाले कति सम्झाउँदा पनि ऊ काम नगर्ने, दिनभरि डुली बस्ने र खाने र सुत्ने बेलामा मात्र घर आउने ग¥थ्यो । आमालाई छोरोको चिन्तामात्र लाग्ने ग¥थ्यो ।

दरबारमा राजाले कविता सुन्ने गरेको र नराम्रो कविता सुनाउनेलाई सजायबापत दरबारमा काम गर्न लगाउने बारे सुनेकोले छोराले कविता भन्न नसके पनि दरबारमा राजाको डरले काम गरेर सप्रिन्छ कि भनेर दरबार पठाउने जुक्ति खोज्न थालिन । आमाले छोरोलाई दरबारमा कविता सुनाउन जानेलाई राजाले मीठो मीठो भोज खुवाउने र कविता मन परे असर्फी दिने गरेको जानकारी गराउँदा पनि छोरा जान नमानेपछि एक दिन आमाले गंगारामलाई तैँले केही नगर्ने भए एक पटक राजालाई गएर भेट्नु र एउटा कविता सुनाई दिनु । राजा खुसी भए पुरस्कार दिन्छन् र त्यो पुरस्कारले हामी सधैँ मीठो मीठो खान पाउँछौँ भनेर राजदरबार जान मञ्जुर गराइन् । आमाले गंगारामलाई बाटोमा जे जे देखिन्छ त्यसलाई सम्झँदै राजालाई सुनाई दिनु त्यो नै कविता हुन्छ किनभने जीवनको अनुभूति नै कविता हो भनेर दरबार पठाइन् ।

गंगाराम गाउँबाट दरबारतिर जाँदा बाटोमा एउटा मुसाले माटो खोस्रेको देखेपछि खुर खुर गरेर के खास्रेको भनेर कविताको पहिला पंक्ती जोड्यो । त्यहाँबाट अगाडि बढेपछि जङ्गलमा एउटा मृग टाउँको तन्काएर यताउति हेरेको देखेपछि गंगारामले अर्को पंक्ती टाउँको उठाएर के हेरेको जोड्यो । अझअघि बढेपछि उसले डरले बेरिएर बसेको एउटा सर्प देखेर सोध्यो, डराएर किन कुक्रुक्क बसेको । यसरी ऊ दरबारमा पुग्यो र दरबारको गेटमा नै राजाको सेनापतिले उसलाई रोकेर किन आएको भनेर सोध्दा उसले कविता सुनाउन आएको भन्दै सेनापतिको नाम सोध्यो । सेनापतिले छेदीलाल भनेपछि उसले छेदीलाल ओ छेदीलाल छेदीलाल ओ छेदीलाल भनेर सेनापतिको नाममा अर्को पंक्ती जोड्यो र दरबारभित्र पस्यो । राजाको सेनापतिलाई राजाले यसरी प्रत्येक दिन कविता सुनेर राष्ट्रको ढुकुटी सिद्धाउँदै गएको मन परेको थिएन । उसलाई लाग्यो राजाको ढुकुटीमा धेरै खजाना छ । उसको मनमा नराम्रो विचारहरू आउन थाल्यो ।

दरबारमा कवि गोष्ठीमा सबैले आआफ्नो कविता सुनाए । गंगारामले आफ्नो कविता यसरी कविता सुनायो:
खुर खुर गरेर के खास्रेको
टाउँको उठाएर के हेरेको
डराएर किन कुक्रुक्क बसेको
छेदीलाल ओ छेदीलाल
छेदीलाल ओ छेदीलाल

गंगारामले बाटोमा देखेका कुराहरूलाई कविता बनाएर सुनाएपछि राजा धेरै हाँसेका थिए । त्यहीँ रात राजाले आफ्नो शयन कक्षमा रानीलाई गंगारामको कविता सुनाउँदै थिए । शयन कक्षसँगै राजाको राज ढुकुटी थियो । राजाले यसरी कविता सुनेर ढुकुटी रित्ताएको देखेर सेनापति छेदीलालले त्यहीँ रात ढुकुटी फोडेर लुट्न भनेर आएका रहेछन् । छेदीलालले बहिराबाट पर्खाल प्वाल पार्न खोज्दा राजाले खुर खुर गरेर के खास्रेको भनेर रानीलाई सुनाउँदै थिए । राजाले यसरी भनेको सुनेपछि छेदीलालले कतै राजाले त देखेनन् भनेर टाउको तन्काएर यताउति हेर्न थालेपछि राजाले त्यतिनै बेला अर्को पङ्क्ति टाउँको उठाएर के हेरेको सुनाए । छेदीलाललाई लाग्यो राजाले पक्कै पनि उसलाई देखेको हुनु पर्छ भनेर त्यहीँ लुकेर बस्न खोज्दा राजाले रानीलाई डराएर किन कुक्रुक्क बसेको भन्ने पङ्क्ति सुनाएपछि छेदीलाललाई लाग्यो अब यहाँबाट भाग्नु नै पर्छ भनेर वेगसँग भाग्न थालेको मात्र के थिए राजाले कविताको अन्तिम पङ्क्ति छेदीलाल ओ छेदीलाल छेदीलाल ओ छेदीलाल सुनाएपछि रानी पनि हाँस्न थालिन ।

भोलिपल्ट दरबारमा छेदीलाल आफै आएर राजालाई बिन्ती चढाउँदै आफूले बिराएको भन्दै माफी माग्न थाले । राजाले माफीको कारण बुभ्mन खोज्दा हिजो आफूले ढुकुटी फोड्न खोज्दा राजाले थाहा पाएको र भाग्न खोज्दा नामै बोलाएर कराएको भनेपछि राजाले राती रानीलाई सुनाएको कविता सम्झे । अनि उनले तुरन्तै आफ्ना सेना पठाएर गंगारामलाई बोलाएर दरबारमा पुरस्कारसहित सम्मान गरे ।
यो कथाले कविताको शक्ति देखाएको छ । यसबाट जीवनको अनुभूति नै कविता हो भन्ने पनि बुझिन्छ । मेरो साहित्यको स्रोत बिन्दु पनि सम्भवतः यही नै हो ।

कविता के हो ?
एक जना कविको सिर्जना हो कविता । कविको अभिव्यक्तिले प्रसव पीडा पाएपछि शाब्दिक रूपमा जन्मने प्रस्तुति हो कविता । छोटो शब्दहरूको प्रयोगबाट विस्तृतताक वर्णन गर्न सक्ने क्षमता रहेकोले साहित्यका अन्य विधाको तुलनामा बढी लोकप्रिय र लेखिने विधा हो कविता । श्रीकृष्णले अर्जुनलाई अधर्मका विरुद्ध धर्मयुद्ध लड्न कविता सुनाएर लड्न प्रेरित गरेका थिए । जसलाई हामी गीत भन्ने गर्छौ । आमाको लोरी (बालगीत) बाट सुरु हुन्छ कविताको यात्रा । यही यात्रालाई निरन्तरता दिँदै कालिदासदेखि शेक्सपियरसम्म कविता लेखेरै अमर भएका छन् । रामायण, महाभारतदेखि मेघदूत, शाकुन्तल हुँदै मुनामदन, तरुणतपसी, चिसो चुल्हो अनि सुवानन्द दासदेखि देवकोटा, सम, लेखनाथ, माधव घिमिरे, मोहन कोइराला, दिनेश अधिकारी, डा. राजेन्द्र भण्डारी, श्रवण मुकारुङ्ग हुँदै हामीसम्म आई पुग्दा कविताका विभिन्न रूप र स्वरूपहरू देखापरेका छन् ।

कविता बुझ्न नेहरुका लागि यो अमृत हो भने नबुझ्नेहरुका लागि अपूर्ण वाक्यहरूले भरिएको अर्थ खोलाउन नसकेको शब्दहरूको समूहमात्र हो । भनिन्छ प्रश्रव पीडाबाट निस्किएको चीत्कारमा मातृवासल्यताको कविता सुनिन्छ भने मृत्यु शय्यामा लम्पसार मृत शरीरको अग्निका रापहरूमा जीवनका पिडाहरूका कथाव्यथा समेटिएको कविता सुनिन्छ । यो सुन्ने कर्ण प्रकृतिले कवि र कवितालाई बुझ्ने पाठकलाई मात्र दिएको हुन्छ । त्यसैले भनिन्छ जहाँ रवि पुग्न सक्दैन त्यहाँ कवि पुग्ने गर्दछ । अर्थात् कविलाई प्रकाशभन्दा अगाडि राखिएको छ । त्यसैले संयुक्त राष्ट्र सङ्घले पनि २१ मार्चलाई विश्वभरि नै अन्तर्राष्ट्रिय कविता दिवस्का रूपमा मनाउने पराम्परा सुरु गराएर यो दिनलाई आज विश्वभरि नै एउटा साहित्यिक चाडका रूपमा मनाउन थालिएको छ ।

कविताले विसंगति ओकल्छ । त्यो विसंगति जसलाई अपच हुन्छ उसले कविताको विरोध गर्न थाल्छ । राजामहाराजाको पालामा समाजका जुझारु कविहरू राजतन्त्रको शोषक नीतिका विरुद्ध कविता लेख्ने गर्थे र लेखेबापत सजाय पनि पाउने गर्थे । पहिले कविले सजाय पाउँथे भने अहिले विरोध पाउँछन् । तर कलमले सत्यको मसीलाई कहिल्यै छोड्दैन । भनिन्छ समाजलाई दिग्भ्रमित पार्न राजाहरू आफैले आफ्नो प्रशंसा सुन्न र सुनाउन भाट कविहरू दरबारमा पाल्ने गर्थे । अहिले कविताको विरोध गर्नेको समर्थन गर्नेहरु त्यही रूपमा देखा परेका छन् । नेपाली भाषामा कविता लेखेरै भारत दार्जिलिङ्गका कवि डा. राजेन्द्र भण्डारीको नाम दुईपटकसम्म साहित्यमा नोबेल पुरस्कारका लाथि मनोनीत गरिएको थियो । नेपाली भाषामा धेरै उपचारका विधिहरू कवितात्मक भाषामा गेयात्क लयमा लेखिएका छन् । कविता भएर नै आज रेडियो, चलचिच, टेलिभिजन र अन्य मनोरञ्जनका माध्यमहरू सञ्चालित छन् र मनोरञ्जन लिई रहेका छौँ ।

हिजो अस्तिकै कुरा हो माओवादीका पूर्व लडाकु साधुराम लामिछानेले एउटा कार्यक्रममा जनयुद्धका कमाण्डर माओवादीका अध्यक्ष प्रचण्डको उपस्थितिमा एउटा कविता सुनाएका थिए ‘ तिमीलाई योग्य बनाउन शरीरमा गोली बोक्ने म कसरी भए अयोग्य’ । यो कविता सुनेर प्रचण्डले आफ्नो आँसु थाम्न सकेनन् । हो, यो वास्तविकताको भारीलाई उनले प्रचण्डकै अगाडि बिसाए । कविता शक्ति भनेको नै यही हो । यो बुभ्mनेको लागि श्रीखण्ड हो भने नबुभ्mनेको लागि खुर्पाको बिँड जस्तै हो । तर एउटा कविताको विरोध हुँदैमा कविता रोकिँदैन । कविता रोकिनु भनेको सत्यको अन्त्य हुनु सरह हो । कविताले सत्यको निरूपण गर्दछ । मलाई न त कविता लेख्नेप्रति कुनै सहानुभूति छ न त विरोध गर्नेप्रति कुनै रीसराग नै छ । मलाई कविताप्रति आस्था छ । यस्तै कविता लेखेर मेरो साहित्यको मन्दिरमा प्रवेश भएको थियो ।

मार्च २३, २०१८

प्रतिक्रिया