अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

आफू भलो त जगत भलो

राम लामा अविनाशी २०७३ फागुन ३ गते २२:२३ मा प्रकाशित

मलेबुको हिन्दु मन्दिरमा हिजो एउटा घनिष्ट मित्रलाई लिएर गएको थिए । त्यो मन्दिरमा करिब ९ सालदेखि निरन्तर प्राय हरेक आइतबार जाने गरेको छु । समुन्द्रको किनार-किनार हुँदै नेपालको मुङ्ग्लिनको जोगिमाराको भिर जस्तै लाग्ने पहाडी बाटो छिचोलेर जानु पर्छ । मन्दिर पुग्दा सम्म एक बिहानैको मन्द-मन्द चिसो हावाले मन मस्तिस्क स्वच्छ भइसकेको हुन्छ । त्यसमा पनि मन्दिरका पूजारीहरुको आत्मीय व्यवहारले त्यो मन्दिर प्रतिको आफ्नो पनले झनै आनन्दित बनाउँछ ।

नेपालबाट अमेरिकाको लस-एन्जलस आईपुग्दाका सुरुवाती दिनका कष्टकर समयमा सहाराको रूपमा आस्थाको केन्द्र बनेका थियो त्यो मन्दिर । मन्दिर भित्रका भगवानको दर्शन गर्न पाउँदा यो मनमा आनन्द मात्रै होइन अब मैले गलत र कष्टकर क्षणको सामना गर्ने शक्ति यो शरीरको रगतको थोपा थोपामा प्रवाह हुन्छ जस्तो लाग्छ । आत्माबल् बढ्छ । 

यस्तै भगवानका आशीर्वादमा निर्भर यो जीवनमा पनि सधैँ भगवान् कै रूप मैले देख्नेहरुलाई प्राय यहाँ लिएर जाने गर्दछु । हवाई निवासी मित्र नेपाल जाने क्रममा लस एन्जलसको एक दिनको ट्रान्जिट भएकोले उहाँसँग छोटो समय भए पनि भलाकुसारी गर्ने मौका मिल्यो । त्यही मौका पारेर यी स्वच्छ मनका पुराना मित्रलाई लिएर मन्दिर दर्शन गरियो । त्यहा प्रसादी बेच्ने क्यान्टिन पनि छ । मैले दुई जनालाई प्रसादीका प्याकेट लिएर टेबलमा गएँ । साथीले दुई ग्लास पानी लिएर एउटा खुट्टो खन्च्याङ्ग खन्च्याङ्ग गर्दै आउँदै हुनुहुंदो रहेछ । एउटा हात कामेर पानी छचल्किएको देखे । त्यो देखेर मेरो हृदय सरर रसाएर गहमा आँसु टल्पल टल्पल भए । विगतमा फुर्तिलो, हसिलो र जांगरिलो त्यो शरीरको यो हालत देख्नु पर्दाको महसुस अतिनै पिडादायी रह्यो ।

जिन्दगी माथि समयले राज गर्दो रहेछ । कसैलाई त अति नै कठोर तरिकाले । उहाँलाई ह्रिदयघात भएको थियो एक वर्ष पहिला । उहाँकै शुभ चिन्तक फ्लोरिडा बासी नरेश पौडेलको घरमा हुनुहुन्थ्यो । करिब तिन् महिना बिरामी पाहुनालाई स्याहर गर्नु भयो नरेशजी र उहाँको परिवारले । त्यो भन्दा ठुलो गुन के हुन सक्छ र ? तर अझै पनि भन्नु हुन्छ नरेश जी कि “आज म जे छु उहाँको सलाह र सहयोगले नै भएको हुँ” । गुन लगाउनु ठुलो कुरा हो भने गुन लगाएको बुझ्न सक्नु र त्यसको सम्मान गर्न सक्नु झन् ठुलो कुरा हो ।

यो पृथ्वीको कुनै त्यस्तो कुनो छैन होला जहाँ उहाँका शुभ चिन्तक नहुन् । त्यसैले यो उहाँको सम्पर्कको फाइदा जरुरत पर्दा सबैले साथीहरूले लिने गरेका छन् । मैले पनि कैयौँ पटक उपयोग गरेको छु । कहिले लण्डनमा त कहिले कतारमा । माथिल्लो स्तरको सम्मानका साथ । उहाँको सल्लाह र सहयोगले अमेरिकामा पनि धेरै जना लाभान्वित भएका रहेछन् । म पनि भएको छु । कष्टकर क्षणमा उहाँको सल्लाहले सहज भएको थियो । मैले विभिन्न देशमा बस्ने धेरै जनाको मुखबाट पनि सुनेको छु । खुलेर उहाँको प्रशंसा गर्छन् गर्वका साथ । 

मन्दिरबाट फर्के पछि संसारलाई मोहित पार्ने सिनेमा बनाउने हलीउड्को अवलोकन पश्चात् घर फर्किने क्रममा उहाँको फोनमा घण्टी बज्यो । म अहिले लसएन्जलसमा छु भनेको सुनें । जसरी पनि यहाँ आउनु भनेर ठेगाना थिए पछि बेभर्लिहिल पुगियो । एक भारती नागरिक अमेरिका पुगेको सुरुवाती दिनहरूमा उहाँले मेरा लागि धेरै गुन लगाउनु भएको छ भनेको सुन्दा म धेरै गम्भीर भए । बेभर्लीहिलमा महिनाको ३५,००० डलर भाडा तिर्ने उहाँको स्पाइस एफेयर्स नामको ईण्डियन रेष्टुरेन्टमा छ जना त कुक मात्रै छन् ।

यो उच्च स्तरिय रेष्टुरेन्ट साथै सन्फ्रान्सिस्कोको फ्रीमोण्टमा समेत रेष्टुरेन्ट भएका एक सफल भारतीय मूलका व्यवसायीले पनि यसरी एउटा नेपालीलाई खुलेर प्रशंसा गरे । यती मात्र होइन त्यो रेष्टुरेन्टमा पाक्ने सबै स्वादिष्ट खाना उहाँको जिब्रोले चाखी दिए हुन्थ्यो भन्ने चाहन्थे । त्यहाँ बस्दाको अवधिभर उहाँहरू दुई जनाको बार्तालापमा यती धेरै आत्मियता झल्किन्थ्यो कि त्यो वर्णन गर्ने पर्याप्त शब्दहरूको म सँग कमी भएको महसुस भयो ।

एक बिजिनेस् मिटिङ्गका लागि नेपालको लागि उड्न एन्जलस एयर्पोर्ट पुर्याउदै गर्दा उहाँका लागि मेरो मनमा प्रश्न उब्ज्यो र सोधे । यती ठुलो प्रोजेक्ट सफल भयो भने तपाईँ त्यो पैसा के गर्नु हुन्छ भनी सोधे । २०% दान, २०% नातीहरुलाई छुट्याउछु र ६० % म आँफैले मनोरन्जन गरेर सिद्ध्याउछु भन्नु भयो । त्यो काम्ने हातले कमाएको पैसा गन्न पनि कठिन होला । खुट्टा खोच्याएर मनोरन्जन गर्न जान पनि सजिलो नहोला । तैपनि उहाँमा भएको हिम्मत र उत्साह देखेर नतमस्तक भएँ ।

बाच्दा सम्म मात्र मलाई बिन्देश्वर कक्षपतीजी म कहाँ आउनुस है भन्नु हुन्छ साथी भाइहरूले पनि । मर्ने बित्तिकै त आफन्तले पनि यो लासलाई उता सार त भन्छन् । यो लासलाई बाहिर निकाल्नु पर्‍यो भन्छन् । मरेको शरीरको त नामै हुँदैन भन्दै एयरर्पोर्ट पुगेको गाडीबाट ओर्लनु भयो । हक गरेर “सी यु सुन” भन्दै एउटा ब्याग पछाडि बोक्नु भयो । एउटा हातले लगेज गुडाउंदै अर्को हातमा अमेरिकन पासपोर्ट र टिकेट समातेर थर थर हात कमाउदै एउटा खुट्टो खन्च्याङ्ग खन्च्याङ्ग गर्दै जानु भयो । म निष्तब्ध भई हेरी रहेँ । जीवनमा साथीभाई र पैसाको महत्वको गहिराई छिचोल्ने प्रयासको सुरुवात भयो मेरो ।