अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

गोसाईकुण्ड, रक्षाबन्धन र नागपञ्चमी 

नवराज बजगाई २०७४ साउन १३ गते ०:३६ मा प्रकाशित

‘येनबध्यो बलिराजा दानवेन्द्रो महाबलः तेनत्वा प्रतिबध्नामि रक्षेमा चलमाचल ।’
‘शतिश्चुते कुशलमस्तु, चिरायु रस्तु, ऐश्वर्य फलमस्तु धनधान्य बृद्धि सहितम हरिभक्ति रस्तु ।’

जुन बन्धनले बलशाली दानवराज बलि बाँधिए त्यसैले तिमीलाई बाँध्छु । तिमी सुरक्षित बन, विचलित नहोऔं । सत्य युगमा दानवबाट पीडित देवगणलाई गुरु बृहस्पतिले रक्षा सूत्र बाँधेर रक्षा गर्दा भनेको यो श्लोक नै अहिलेसम्म पनि रक्षाबन्धनको श्लोक भएको छ ।

प्रत्येक ब्राह्मणले जनै र डोरो लगाउँदै रक्षा गर्ने सुरक्षित राख्ने बन्धन बाँध्छन् । यस दिन देशभरका मानिसहरु विभिन्न तीर्थस्थल गई स्नान गरी ब्राह्मणका हातबाट डोरो बाध्छन् र जनै फेर्छन् । यसो गर्नाले सुरक्षित रहने र रक्षा हुने किम्वदन्ती पाइन्छ । तपाइहरु पनि माथि उल्लेखित मन्त्र जप्दै रक्षाबन्धन गर्न विभिन्न तीर्थस्थल जाँदै हुनुहुन्छ होला प्रसंगको पेरीफेरिमा रही यो बेलाका महत्वपूर्ण ऐतिहासिकता सम्बन्धी केही जानकारी प्रस्तुत गरिएको छ ।

नागपञ्चमी र रक्षाबन्धन एकै दिन
चौथोपटक रक्षाबन्धन पर्व र नागपञ्चमी एकै दिन परेको छ । पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी र जनैपूर्णिमा मनाउन सुझाव दिएको छ ।

पञ्चाङ्ग समितिको विज्ञप्तिमा श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रीपूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षावन्धन श्रावण १३ गते शुक्रबार नागपञ्चमीका दिन गर्नु शास्त्र तथा परम्परा अनुसार समुचित हुने बताईएको छ । नागपञ्चमी र रक्षाबन्धन एकै दिन गरिएको २७ वर्षपछि यो पटक हो । यसअघि विक्रम सम्बत १९६३, १९८२, २०२८ र २०४७ सालमा यस्तै परेको थियो ।

नाग पञ्चमी
प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी चोखो भई घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूलढोकामाथि नागको चित्र गोबरले टाँसेर गाईको दुध र दुबो चढाई पूजा अर्चना गरेर नाग पूजा गर्ने चलन परापूर्वकाल देखिको हो ।

रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र रोपाइँ सकिएकाले नागहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजाअर्चना गर्ने चलन रहेको जनविश्वास छ । यस दिन विशेष गरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ । यस दिन कालिय नागको बासस्थान रहेको ललितपुरको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा विशेष मेला लाग्ने गर्दछ । सँगै सबै नेपालीले घरघरमा नागको पूजा र चित्र टाँस्ने गर्दछन् ।

महादेव पोखरी
यस ठाउँमा गई स्नान गरी पूजापाठ गर्नेले आँटेको पुग्ने र अश्वस्तता हटाई आनन्दीत र स्वास्थ्य रहने किम्वदन्तका साथ मेला लाग्ने गरेको महादेव पोखरीमा सिजनका अन्नहरु चढाएर खान शुरु गरेमा सहकाल हुने बुढापाकाको भनाई छ । परापूर्व कालको भाद्र पूर्णिमाकै दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको हलाहल विष बाहिर निस्कियो त्यो विषलाई श्री महादेवले सेवन गरेपछि विष सेवनले छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लागेका थिए । त्यही क्रममा महादेवको पहिलो बास महादेव पोखरी अर्थात् त्यो बेलाको तपोवनमा (नालादेखि नगरकोट र जलजले माथिसम्मको भालाई आदीकालमा तपोवन भनिन्थ्यो । आजसम्म पनि उक्त स्थानलाई श्रीस्वस्थानीमा तपोवन नै भनिन्छ ) भयो ।

वर्षा ऋतुको अन्त्यतिर भएको कारण गर्मीले गर्दा राति महादेवलाई पानी प्यास लागेर आयो अन्त कतै नजिकै पानी नभएको कारण महादेवले त्यसै स्थानमा नङले कोट्याएर पानी निकाली खाएका कारण उक्त ठाउँमा सधैं पानी जमिरह्यो र त्यसै ठाउँको नाम महादेव पोखरी रह्यो भन्ने किम्वदन्ती पाइन्छ भने त्यसैदिन महादेव हिमालयको गोसाइकुण्डमा समेत पुगेका थिए । सतिदेवी मरेको बेला लास बोकेर पुनः महादेव महादेवपोखरी आएका थिए । त्यहाँ पनि सतिदेवीको एक अंग पतन भयो र रत्नचुणेश्वर महादेवको उत्पत्ति भयो । त्यसै दिनदेखि प्रत्येक भाद्र पूर्णिमाका दिन ऋषिहरु त्यहाँ आई तपस्या गर्न थाले अन्तत्वगत्वा त्यस ठाउँलाई तपोवन भनियो । यसका साथै उक्त तपोवनमा पाण्डवहरु समेतले तपस्या गर्ने गरेको हिन्दु धर्मशास्त्रमा उल्लेख छ । सतिदेवीको अंगल पतन भएका ठाउँमा स्नान गर्नाले मोक्ष प्राप्ति हुने आशाले बुढापाकाहरु महादेवपोखरी जाने गर्छन् भने पर्यटकीय स्थल नगरकोट र त्यहाँका झाँकीहरुको दृश्य लुट्न मात्र भएपनि युवा जमान महादेवपोखरी जाने गरेको पाइन्छ ।

गोसाइकुण्ड
काठमाडौबाट ६९ किलोमिटर टाढा त्रिशुली र त्रिशुलीबाट ४८ किलोमिटर टाढा धुन्चे पुगेपछि १० घण्टा पैदल हिँडेर वा काठमाडौंको सुन्दरीजलबाट नुवाकोटको चिसापानी सिन्धुपाल्चोकको पार्टी भञ्ज्याङको उकालो हुँदै अथवा मेलम्चीबाट २६ घण्टा जति पैदल हिँडेर पुगिने रसुवा जिल्लाको उत्तरी भेगको हिमाली भागमा रहेको तिर्थस्थल मध्यको अग्रणी तिर्थस्थल गोसाईकुण्डमा मेला लाग्ने गरेको कारण धेरै टाढा देखिका श्रद्धालुहरु गोसाईकुण्डमा मेला भर्न र स्नान गर्न पुग्ने गर्छन् । त्यहाँ पुगेर स्नान गरी फर्कनाले खुशी, अनन्दित र गौरवान्वित हुने र रोग व्याधी हट्ने तथा स्वास्थ्य रहने किम्वदन्ती पाइन्छ ।

कालकुट विष पियर छटपट्टिएका महादेवलाई कही गएर पनि विषको प्रभाव कम नभएका कारण हिमाल चढेका महादेवले त्रिशुलको प्रहार गरी तीन वटा मुल निकाले र त्यही पानी जमेको कुण्मा सुतेर डाहा पनि कम गराए । यसकै कारण उक्त स्थानलाई गोसाईकुण्ड भनेर चिनियो । महादेवको त्रिशुल प्रहारबाट तीनवटा मुहान बनेर पानी निस्केर बग्ने गरेको नदीको नाम नै त्रिशुली रहेको पनि लोकोक्ती पाईन्छ । यिनै कारण पनि उक्त कुण्डमा भाद्र एकादशीदखि पूर्णिमासम्म मेला लाग्ने गरेको अनुमान गर्न सकिन्छ भने डाह कम गर्ने तिर्थस्थल पनि गोसाइकुण्ड नै हो ।

बनेपाको गोसाईकुण्ड
गोसाईकुण्डको सहायकको रुपमा काभ्रेको बनेपास्थित बुडोलमा रहेको गोसाइकुण्डमा पनि भाद्र पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको पाइन्छ । शारिरीक अस्वस्थ र बालबृद्धाका कारण रसुवाको गोसाइकुण्ड पुग्न नसकेकाले विहानदेखि आएर यहाँ स्नान गर्ने र ब्राह्मणहरुले जनै र डोरी फेर्ने गरेको पाइन्छ । जंगलको बीच भागमा अवस्थित यो कुण्डमा गएर स्नान गर्नाले पनि गोसाईकुण्ड गए जत्तिकै हुने किम्बदन्ती छ ।

परापूर्व काल जबकी गोसाईकुण्डमा मेला लाग्न थालिसकेपछि गोसाईकुण्डमा मेला भरी स्नान गरी जललिन भनी लगिएको एक तिर्थालुको कमण्डलु गोसाईकुण्डमा हराएको र पछि आएर उक्त कमण्डलु अहिलेको बुडोलको गोसाईकुण्डमा भेटिएको कारण त्यही ठाउँलाई गोसाईकुण्डको सहायक रुपमा लिई मेला भर्ने र स्नान गर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया