अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

सुनौलो भविष्य बोकेको नेपालको शेयर बजार

बिआरटीनेपाल २०७३ मंसिर १२ गते १९:४४ मा प्रकाशित

२७ जुलाई २०१६ नेप्से १८८१.४५ हाल सम्मकै उच्च बिन्दुबाट क्रमशः ओरालो लाग्दै आइतबार नोभेम्बर २७ मा ६४.५५ अङ्कले झरेर १४६९.४८ विन्दुमा पुगेको छ । लगानीकर्ताहरुले सेयर किन्न खोज्दा अझै बजार घट्छ भन्दै किन्न निरुत्साहित गर्ने र बेच्न खोज्दा सेयर बजार अब बढ्छ भन्दै लगानीकर्तालाई रोकेर अत्याँसको स्थितिमा पुर्‍याउने गम्भीर खेल भएको आभास देखाउंदछ नेपाली शेयर बजारको सुचांकले ।

आइतबारको बजारले बियरिस ट्रेन्डको स्पष्ट सङ्केत गरेको छ । बियरिस ट्रेन्डमा सेयर किनबेच गर्दा लगानीकर्ता विशेष सजग र संयमित हुन पक्कै आवश्यक छ । विगतमा विभिन्न प्राविधिक र आधारभूत विश्लेषकहरूले बजार १५ सय अङ्क आसपासबाट बाउन्स ब्याक हुनुपर्ने बताएका थिए । १४८० भन्दा पनि नेप्से तल गएमा बियरिस ट्रेन्ड हुने उनीहरूको भनाई पनि थियो ।

बियरिस ट्रेन्डमा बजार बिस्तारै घट्दोक्रममा जान्छ । यस्तो अवस्थामा साना तिना लगानिकर्ता निकै आत्तिने र दिर्धकालमा अझै नोक्सान होला भनेर नोक्सानमै भए पनि शेयर बिक्री गर्ने गरेको पाइन्छ । यस्तो बियरिस ट्रेन्डमा सेयर किन्दा दीर्घकालीन समयसम्म होल्ड गर्ने हिसाबले राम्रा कम्पनीहरूको शेयर किन्नुपर्ने बजारका अनुभवीहरू समेत बताउँछन् ।

बजारको वास्तविक गति र यसको प्रवृत्तिका बारेमा कसैले पनि यकिन गर्न भने सक्दैन । तर प्रवृत्तिलाई सूक्ष्म अध्ययन गरी कारोबार गर्दा जोखिम कम हुन सक्छ । बजारको यस्तो अवस्थामा अरूको लैलयमा लागेर वा हल्लाको भरमा कुरा सुनेर लगानी गर्दा वा आफूसँग भएको शेयर बिक्री गर्दा सदाको लागि नोक्सानी बेहोर्नु पर्ने हुन सक्छ तसर्थ अरूको हल्लाको पछि नलागी कम्पनीको यथार्थ स्थिति बुझेर मात्र लगानी अथवा आफूसँग भएको शेयर बिक्री गर्न बुद्यिमानी हुनेछ ।

सामाजिक सन्जाल र त्यसको प्रभाव:
२१ औँ शताब्धी अनि अहिलेको समाजिक सन्जालहरु मलाई लाग्दछ अलिअलि पढेको अनि जाने बुझेको कुनै पनि व्यक्ति सामाजिक सन्जालमा आवद्य नभएको कमै होलान् । हाल नेपालको शेयर बजार पनि यो सञ्जालबाट अछुतो हुन सकेको छैन । कुनै पनि कुराको आविष्कार राम्रो गर्नको लागि हुन्छन् तर त्यसलाई सही तरिकाले प्रयोग गरिएन भनी त्यसले सबैलाई राम्रो नै गर्छ भन्ने हुँदैन । मैले नेपाली शेयर बजारको गतिविधिहरू निकै नजिकबाट हेरिरहेको हाल केही सामाजिक सन्जालहरुमा निकै नकरात्मक कुराहरू गरी साना तथा र्भखरै यस बजारमा आयका लगानी कर्ताको मनोबल गराउने कामहरू भएको जस्तो लाग्दछ । विदेशमा आफूसँग अरूलाई परामर्श दिने प्रमाणपत्र वा प्रमाणिकरण नभएसम्म अरूलाई सल्लाह त के नकरात्मक असर पर्ने हिसाबले बोल्न पनि अफ्ट्यारो हुन्छ । नेपालमा भने हरेक मानिस शेयरको बेत्ता वा परामर्श दाता जस्तो भान भइरहेको देखिन्छ । खास गरी नकरात्मक कुराहरू बोलेर निकै चर्चामा रहेको मानिस दुर्गा प्रसाद काफ्ले, त्यो मानिस को हो, त्यसले नेपाली अर्थतन्त्रलाई अवमुल्यंकन गर्ने आँट कस्री गदैछ ? शेयरको बारेमा विश्लेषण गर्ने अधिकार वा प्रमाण पत्र त्यसलाई कसले दियो । अचम्मको कुरा अहिलेत उसलाई भर्खरै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाड ट्रमसंग समेत दांजेर उसको शैली रे भन्ने समेत सुनियो । कहाँ डोनाल हुँदा ट्रम संसारको राजधानी म्यनह्टको मुहार परिर्वतन गर्ने सक्ने क्षमता भएको व्यक्ति कहाँ नेपाली शेयर बजारबाट भागेर साउदी हुँदै भैसि पालनमा पुगेको व्यक्ति तुलनाको पनि हद हुन्छ । त्यो दुर्गा प्रसाद काफ्लेलाई तत्काल समाति हुनुमान ढोकामा लगेर २/४ दिन राखी केरकार गर्नु निकै जरुरी छ सायद यसले कसैको लागि काम गरेको हुनु पर्दछ ।

नेपाली शेयर बजारको भविष्य र नेप्सेको पहल:
काठमाडौँ सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल स्टक एक्सचेन्जले लगानीकर्तालाई संयमित हुन आग्रह गरेको छ । नेप्सेले आइतबार विज्ञप्ति जारी गर्दै नाटकीय ढङ्गबाट बजार घट्नुपर्ने केही पनि कारण नरहेको जनाएको छ । ‘मुलुकको समग्र अर्थतन्त्र सकारात्मक रहेको अवस्थामा बजारमा भारी गिराट आउनुपर्ने कारण देखिँदैन । तरलता अभाव पनि हल्ला गरिए अनुसार भएको छैन,’ नेप्सेले समेत भनेको छ ।

लगानीकर्ताले सेयर कारोबार गर्नुअघि सम्बद्ध कम्पनीको वास्तविक अवस्था, नाफाघाटा, लाभांशदर, कम्पनीको भावी रणनीतिलगायतका पक्षमा गहन अध्ययन गर्न पनि नेप्सेले लगानीकर्तासँग आग्रह गरेको छ ।

सेयर बजारको दिगो विकास गर्न नेपाल स्टक एक्सचेन्जले सुधारका थुप्रै काम अघि बढाएको नेप्सेको भनाई छ । क्लियरिङ बैङ्क थप्ने, ब्रोकरको सेवा विस्तार गर्ने, ब्रोकर डिलरको प्रवेश गराउन तथा पूर्णअटोमेसनका लागि काम भइरहेको पनि नेप्सेले बताएको छ ।

नेपाली सेयर बजारको सकरात्मक तथा भविष्यबारे केही कुराको चर्चा गरौँ ।
हामी बिस्तारै कागजि प्रक्रियाको प्रणलिबाट अर्ध अनलाइन हुँदै नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाइन कारोबार प्रणाली निकट भविष्यमै जादैछौ जसले बजारलाई अरू सजिलो, बिस्वासिलो र पारदर्शी बनाईदिनेमा कसैले शङ्का नगर्दा हुन्छ।

सेयर बजारमा गैर आवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरू अन्तिम चरणमा छ, यसबाट सेयर बजारमा लगानी कर्ताको ओईरो लाग्ने छ मलाई लाग्दछ त्योदिन नेपालको शेयर बजारले कायापलट गर्ने छ अनि दुर्गा प्रसादहरु फेरि र्भैसि पालेर कमायको अलिकति आम्दनी यस बजारमा समेत लगानी गर्ने छन् आनि आफूले आफूलाई धिक्कारने छन् । कल्पना गरौँ हाम्रो देश जहाँ एक पत्रकारले तरकारी बालीको फोटो पत्रिकामा प्रकाशन गर्दा रातारात हिट हुन्छीन भनी सम्पूर्ण अर्थतन्त्रलाई संसार भरि खुल्ला गर्दाको क्षण कस्तो होला ?

वाणिज्य बैंकहरुलाई सेयर दलालको रूपमा काम गर्न दिने कुरामा सबैको सहमति बन्दै गएको अवस्था छ र यदि देशले अर्थतन्त्रमा कायापलन गर्ने सोचेको छ भनी यस्ता कुराहरूमा छिटो भन्दा कार्यान्वयन गराउन सरकारलाई दबाब दिनु पर्दछ र यो पनि निकट भविष्यमा हुने नै छ जसबाट काठमाडौँ केन्द्रत शेयर बजार देशको कुना कुनामा पुग्नेछ ।

अहिलेका सेयर दलालले राजधानीमा मात्र केन्द्रित नभई पचहत्तरै जिल्ला जानु पर्ने नियम बनाउनु दबाब दिनु पर्ने र यसबाट उनीहरूको कार्य क्षेत्र बिस्तार हुने नै छ । जिल्ला सदरमुकाममा मात्रै हैन सम्भावित सबै सहरहरूमा सेयर दलालको कार्यालय बिस्तार भएमा धेरै लगानीकर्ताको सङ्ख्या थपिने र सेवा सुविधा सहज रूपमा लगानीकर्ताले पाउने छन् साथै शेयर दलालको ५० कोटा हैनकी निश्चित मापदण्डको आधारमा बजार खुल्ला गरिनु पर्दछ जसले यसमा प्रतिस्प्रधा भई लगानिकर्ताले छिटो तथा गुणस्तर सेवा पाउनेछन जसले बजारमा सकरात्मक भूमिका निर्वाह गर्ने छ ।

राष्ट्र बैङ्कको पुँजी वृद्धि योजना अहिले चालु रहेको अवस्थामा हरेक वाणिज्य बैङ्कले २०७४ असार मसान्त भित्र आठ अर्ब पुर्याउनै पर्छ । अरू बैङ्क तथा वित्तीय संस्थाहरूले पनि धमाधम पुँजी वृद्धि गरिरहेका छन् । अब पुँजी बढेपछि सबै कुरा सकियो भन्ने हैन, बल्ल प्रगतिको चरण सुरु भएको छ । बैङ्क तथा वित्तीय संख्याहरुले यसपछि पनि पुँजी बढाउँदै लगानी बिस्तार गर्दै जानुपर्ने कुरामा गभर्नरले सङ्केत गरिसकेका छन् । आठ अर्बपछि सकिन्छ हैन, यो क्रम जारी नै रहन्छ । जसरि हिजोका दिनमा १ अर्ब पनि चुक्क्त पुजि नभएका बैङ्कको आज ८ अर्ब बन्दैछन् बिस्तारै त्यो क्रम जारी रहनेमा कसैको दुई मत नहुन सक्छ ।

२०७२/०७३ असार मसान्तको वित्तीय विवरण हेर्दा २८ वटा वाणिज्य बैंकहरुले सबै क्षेत्रमा धेरै राम्रो प्रगति गरेका देखिन्छ । निक्षेपमा २१, कर्जा बिस्तारमा २७, खुद ब्याज आम्दानीमा २५, सञ्चालन नाफामा ६० प्रतिशत वृद्धि भएको समग्र अवस्थामा खुद नाफा ३६ प्रतिशतले बढ्नु भनेकोे धेरै उत्साह ल्याउने सूचकहरु हुन । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण पनि धेरै उत्साहित पार्ने खालका देखिएको छ र वाणिज्य बैंकहरु दीर्घकालीन लगानीका हिसाबले सुरक्षित र उपयुक्त क्षेत्र हुन भन्ने प्रस्ट भएको छ । अमेरिकामा फेसबुकले अहिललेसम्म कुनै प्रतिफल दिएको छैन तैपनि आजको प्रतिकित्ता मूल्य रु. १३,२१४ छ त्यसै गरी एप्पलले प्रति वर्ष सामान्य प्रतिफल दिन्छ उसको आजको वास्तविक मूल्य भनेको रु. ६१,३५५ हो । वारेन बफेटको कम्पनीको आजको प्रति कित्ता मूल्य भनेको रु. २,६०२४८२०।०० यसको तुलनामा हाम्रा बैङ्कका शेयर मूल्य रु. ५००.०० छ जुन मलाई अत्यन्तै सस्तो जस्तो लाग्दछ ।

विदेशमा मार्जिन कर्जा पनि सेयर दलाल मार्फत नै प्रवाह हुने प्रचलन छ जुन कुरा नेपालमा समेत पहल भइरहेको छ त्यसको लागि शेयर दलालको क्षमता बृदि हुन अत्यन्त जरुरी छ । यसबाट पनि बजारको आकार बढ्न गई हामी लगानीकर्तालाई निकै नै फाइदा पुग्ने छ ।

पहिलको दिनमा नेपालको सेयर बजारमा केही सीमित लगानीकर्ता थिए तर अहिले लाखौँ पुगिसकेको अवस्था छ र निकट भविष्यमै देश विदेश बाट अरू कयौँ थपिने छन् । बजारमा जत्ति धेरै लगानीकर्ता थपिने छन् बजारको आकार र स्थायित्वको आधार अरू मजबुत हुने छ ।

नेपाल अल्पविकशित देशहरू ९एलडीसी०को सदस्य र दुई विशाल र आर्थिक रूपमा छिटो विकसित हुँदै गरेका देशहरू चीन र भारतको बिचमा रहेकाले उनीहरूको सङ्गतले यहाँको पनि विकास छिटो हुने र अर्थतन्त्र बढ्ने निश्चित छ । अर्थतन्त्र फैलिदै गएपछि पुँजी बजार पनि निश्चित रूपमा बढ्छ । कल्पना गर्नुहोस् भारतमा जस्तो एक घर एक बैङ्क खाता, हरेक कारोबार नगद भन्दा कार्ड बाट भएको दिन, विदेशमा जस्तै, हरेक घर, गाडी, फोन समते बैक तथा वित्त कम्पनीले फाईनान्स गर्ने त्यो दिन । म त सम्भावना मात्रै देख्दछु नेपाली शेयर बजारको ।

सार्क देशहरूको सेयर बजार सूचक हेर्ने हो भने धेरै देशको सेयर बजार नेपालको भन्दा विकसित, आधुनिक र कयौँ माथि पुगिसकेको छ । बङ्गलादेश र श्रीलंकाकै उदाहरण हेर्नुहोस्, श्रीलंकामा आन्तरिक सम्मस्याको बाबजुद पनि उनीहरूको बजार कहाँ पुगिसके, हामी कहाँ छौ रु प्राविधिक र आधारभूत कुराहरू विश्लेषण गरेर भन्ने हो भने नेपालको सेयर बजार पनि निकट भविष्यमै अत्याधुनिक हुने, अरू सबल हुने र धेरै माथि पुग्ने निश्चित छ ।

जसले जे भनेपनि, सामाजिक सन्जालमा जे लेखेपनी, लगानी आफूले गर्ने हो राम्रोसँग अध्ययन, विश्लेषण र ठम्याईबाट गर्नुहोस्, अरूको लहै लहैमा लाग्दै नलाग्नुहोस । किन्ने वा बिक्री गर्ने निणर्य सबैकुराहरुको गहन विश्लेषण पश्चात् गर्नु होस । मैले देखेको नेपालको शेयर बजार सुनौलो छ ।

प्रतिक्रिया