अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ : चीन

बिआरटीनेपाल २०८१ वैशाख ६ गते ८:१८ मा प्रकाशित

चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिनुभएको हो । आफ्नो कार्यकक्षमा बिहीबार भएको भेटका क्रममा चियानचाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टीहरूको सरकार बन्दा चीन खुसी भएको धारणा राख्नुभयो । ‘दुई पार्टी मिल्नु नेपाली जनताका लागि राम्रो छ’, उहाँले भन्नुभयो, ‘हामी वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ ।’

उहाँले अगाडि भन्नुभयो, ‘वामपन्थी सरकार बन्नु भनेको नेपाल स्वर्णिम यात्रातिर अग्रसर बन्नु हो । वामपन्थी एकताबाट नै नेपालको विकास गर्न सकिन्छ । वामपन्थी एकीकरण गरेर जाँदा राम्रो हुन्छ ।’ सो अवसरमा उहाँले सीपीसी र माओवादी केन्द्रबिचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘चीन र नेपालबिच घनिष्ठ सम्बन्ध मात्रै होइन । हामी साथी र कमरेड पनि हौँ ।’ अमेरिकाप्रति लक्षित गर्दै उहाँले चीनलाई घेराबन्दीमा पार्न केही मुलुकले नेपालमा सहयोगमार्फत हात बढाइरहेको पनि जिकिर गर्नुभयो । सो कुरा चीनलाई सह्य नहुने बताउँदै उनले जसले जतिसुकै भाँजो हाल्ने कोसिस गरे पनि नेपाल र चीन बिचको सम्बन्ध परिवर्तन हुन नसक्ने धारणा राख्नुभयो।

जवाफमा गुरुङले आफूहरू कुनै पनि प्रकारको अस्थिरता र द्वन्द्व निम्त्याउन खोज्ने तत्त्वप्रति सचेत रहेको बताउनुभयो । नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको पनि उहाँको भनाइ थियो । ‘नेपालले स्थायित्व र पञ्चशील सिद्धान्तमा जोड दिन्छ’, उनले भने, ‘विगतदेखि नै पश्चिमा शक्तिले नेपालमा प्रभाव जमाउन प्रयास गरे पनि हाम्रो पार्टी र सरकारले चेक एण्ड ब्यालेन्स गर्छ ।’ उहाँले प्रचण्ड नेतृत्वको सरकारले त्यो दिशामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा पनि खेल्ने बताउनुभयो ।

यस्तै उहाँले आफूहरू वामपन्थी एकता र सरकारलाई निरन्तरता दिन प्रयासरत रहेको पनि बताउनुभयो । ‘वामपन्थी सरकारको निरन्तरता र एकतालाई विशेष जोड दिएका छौँ,’ उहाँले भन्नुभयो । चियानचाओले नेपालमा चीनले गरेको सहयोग र बीआरआई सम्झौताप्रति ऐक्यबद्धता जनाउनुभएको थियो । सो अवसरमा चियानचाओले नेपाली पक्षले चीनको लगानीका लागि ठोस परियोजना प्रस्तुत नगरेकोप्रति चासो राखेका थिए ।

प्रतिक्रिया