अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 12:12

संसदको बजेट अधिवेशन वैशाख २५ गते बोलाउने सरकारको तयारी

बिआरटीनेपाल २०८१ वैशाख १९ गते ५:३१ मा प्रकाशित

सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ। सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिनुभएको हो । उहाँले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरुलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बताउनुभयो।

त्यस्तै संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरु संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडी बढिने पनि उहाँको भनाइ छ। गिरीले बजेट अधिवेशन भएपनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री गिरीले सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराउनुभयो। यद्यपी छिटो पारित गर्नेगरी संसदमा विधेयक नै आउनसक्ने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘संसदको अधिवेशन सम्भवतः२५ वा २६ गते शुरु होला। लगानी सम्मेलनलाई अनुकुल किसिमको प्रभाव पार्ने हिसावले लगानीका निम्ति सबैलाई उत्साहित हुने वातावरण निर्माण गर्नका निम्ति सरकारले जुन अध्यादेश ल्यायो त्यो आफैँमा निकै राम्रो काम थियो। लगानी सम्मेलनमा सहभागि भएका सबैबाट पनि त्यो कुरा आएको छ। संसद नचलेको बेलामा अध्यादेशमार्फत पनि लगानी सम्मेलनलाई अनुकुल प्रभाव परोस्। लगानीका निम्ति तयार रहेका सबै मान्छेलाई उत्साह प्रदान गर्न सकोस् भन्ने हिसावले अध्यादेश ल्यायौँ। जहाँसम्म निकै राम्रो भयो भन्ने लागिराखेको छ। आउँदो अधिवेशनको सन्दर्भमा पनि समितिमा छलफलमा भएका धेरै विधेयकहरु छन्।’

गिरीले थप्नुभयो, ,‘ति विधेयकहरु समितिमा छिटोभन्दा छिटो टुंग्याउने र संसदमा लगेर यसलाई कानुनको रुपमा अगाडी बढाउनेगरी काम अगाडी बढ्दैछ। मलाई लाग्छ आउने अधिवेशन विधेयकहरुलाई संसदबाट पारित गर्ने काममा उल्लेखनीय प्रगति हासिल गर्छौ भन्ने लाग्छ। संविधान, संघीयतालाई कार्यान्वयन गर्नका निम्ति थुप्रै ऐनहरुमा संशोधन आवश्यक छ। त्यसको निम्ति पनि धेरै विधेयकहरु संसदमा पेश हुने अवस्था रहन्छ। ति विधेयकहरुमाथि पनि छलफल गर्दै हामी अगाडी बढ्छौँ। आउँदो अधिवेशन बजेट अधिवेशन भएपनि विधेयकहरु पारित गर्दै जाने सन्दर्भमा पनि त्यो अधिवेशन निकै महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ।’

मन्त्री गिरीले संसद बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताउनुभयो। उहाँले संसदलाई सहज ढंगले चलाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग छलफल भइरहेको र सकारात्मक कुरा भएको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू