अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलियो

बिआरटीनेपाल २०८० माघ २८ गते ५:४८ मा प्रकाशित

फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलिएको छ । फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरिया लगायत देशका किसान आन्दोलन फैलिएको हो । युरोपेली युनियन भन्दा बाहिरका देशहरूबाट हुने गरेको सस्तो आयात रोक्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । इटलीमा भने गत शुक्रवार ट्याक्टर सहितका हजारौँ किसानले रोममा प्रदर्शन गर्दा देशको जनजीवन ठप्प भएको थियो । त्यसपछि प्रधानमन्त्री जर्जिया मेलोनीले वार्षिक १० हजार ८ सय अमेरिकी डलरसम्मको व्यक्तिगत आयकर छुट दिने घोषणा गर्नुभएको थियो ।

यस्तै, पोल्यान्डमा आन्दोलनमा रहेका किसानले युक्रेनसँगको सीमा नाका बन्द गर्न र युक्रेनबाट हुने सस्तो खाद्यान्न र तरकारीको आयत रोक्न माग गरेका छन् । उनीहरुले आफूहरुको उत्पादन नबिकेको भन्दै एक महिने आन्दोलन पनि घोषणा गरेका छन् ।उता, स्पेनका किसानले पनि अत्यधिक कर र कठोर वातावरणीय नियमको विरोध गर्दै राजमार्ग र बन्दरगाहहरू अवरुद्ध पार्दै आएका छन् ।

यस्तै बुल्गेरियाका किसानले गरेको विरोधले रोमानियासँगको नाका अवरुद्ध भएको थियो । किसानहरूले कम उत्पादन मूल्य, बढ्दो लागत, सस्तो आयात र जलवायु परिवर्तन विरुद्ध ईयूका नीतिहरूसँग सम्बन्धित प्रतिबन्धहरूको विरोधमा प्रदर्शन शुरु गरेका हुन् । युरोपेली युनियनले वातावरण संरक्षणका लागि भन्दै तरकारी र खाद्यान्न बालीमा विभिन्न विषादी र कृषि प्रविधिमा रोक लगाएपछि प्रदर्शन शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू