अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

‍पाकिस्तानको आम चुनावमा सेनाले हस्तक्षेप गरेको भन्दै अमेरिका, बेलायतलगायत देशको चिन्ता

बिआरटीनेपाल २०८० माघ २७ गते ४:२२ मा प्रकाशित

अमेरिका, बेलायत लगायतका देशले पाकिस्तानको आम चुनावमा सेनाले हस्तक्षेप गरेको भन्दै चिन्ता जनाएका छन् । बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले आफ्नो देशले पाकिस्तानी अधिकारीहरूलाई मौलिक मानवअधिकार कायम गर्न अपील गरेको बताउनुभएको छ ।एक विज्ञप्तिमा क्यामरुनले सबै दलहरूलाई औपचारिक रूपमा चुनाव लड्न नपाएकोमा दुःख व्यक्त गर्नुभएको छ । यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तानको चुनावमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलामा प्रतिबन्ध लगाएकोमा आलोचना गर्नुभएको छ ।

निर्वाचन प्रक्रियाका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण र इन्टरनेट र दूरसञ्चार सेवामा प्रतिबन्ध लगाइएको भन्दै अमेरिकाले निष्पक्ष चुनावमा प्रश्न उठाएको छ । निर्वाचन आयोगले चुनावमा इमरान खानको पार्टी पीटीआईमाथि प्रतिबन्ध लगाएको थियो ।यस्तै, स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका पीटीआई समर्थक कयौँ उम्मेदवारलाई विभिन्न आरोप र बहानामा उम्मेदवारी दिनै रोक लगाइएको थियो । यस्तै, सेना र अन्य दलले मतगणनामा पनि जालझेल गरेर कयौँ पीटीआई समर्थक उम्मेदवारलाई जानाजान हराएको आरोप लगाएको छ ।

इमरान खानलाई विभिन्न आरोपमा ३० वर्षभन्दा धेरै समयको जेल सजाय तोकिएकाे छ । २ सय ६६ सिटका लागि गएको बिहीवार भएको चुनावमा अहिलेसम्म ९९ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्, यी स्वतन्त्र उम्मेदवार पीटीआई समर्थित हुन् । पाकिस्तान मुस्लिम लिगका ७१ जना र पाकिस्तान पिपुल्स पार्टीका ५३ जना विजयी भएका छन् । एआईद्वारा बनाइएको विजय भाषणमा इमरान खानले अहिलेसम्मको जित नागरिकको अभूतपूर्व सङ्घर्षको नतिजा भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू