अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

सुरक्षाको प्रमुख अभिनय रहेको ‘खेल’को शुभमुर्हत

बिआरटीनेपाल २०८० पुष ९ गते ५:१७ मा प्रकाशित

विश्वका ठूला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउने महत्त्वाकाङ्क्षी नेपाली सिरिज ‘खेल’को शुभमुर्हत गरिएको छ । सोमबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो ।बलिउडका दर्जन बढी चलचित्रमा सह निर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने यस सिरिजमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख अभिनय गर्दै छिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहने छ ।

सिरिज काठमाडौंभित्र करिब एक महिना छायाङ्कन हुने छ । निर्देशक प्रधानले एक सय वर्ष अगाडिको काठमाडौंको सेटअपमा पुरै सिरिज छायाङ्कन हुने बताए ।विश्वभर लोकप्रिय रहेको ओटीटी प्लेटफर्म ‘नेटफ्लिक्स’को प्राविधिक मूल्याङ्कनमा आधारित रही बन्ने यो सिरिजको पहिलो सिजन पाँच शृङ्खलाको हुने प्रधानले बताए । प्रधानले आफूलाई नेटफ्लिक्सले आफ्नो गुणस्तरमा सिरिज बनाई पेस गरेपछि मूल्याङ्कन गरी रिलिज गर्ने जानकारी दिए ।नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेका केही बलिउड चलचित्रमा काम गरेका उनले नेपाली कन्टेन्टको लागि नेटफ्लिक्सले अग्रिम लगानी नगरी पछि मूल्याङ्कन गरी रिलिजबारे निर्णय लिने बताएपछि आफूले सोही अनुरूप सिरिजमा काम गरिरहेको बताए । यसको लागि क्यामेरा लेन्स सहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको बताए ।

पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीहरूको कथा रहने छ । संसारभर बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भएता पनि चलचित्रको कुनै भाषा नहुने भएकोले ‘खेल’लाई विश्वका सबैले हेर्न सक्ने प्रधानले बताए । एक दशक अगाडि बलिउडको चर्चित चलचित्र ‘बर्फी’मा इन्टर्न गरी चलचित्र यात्रा सुरु गरेका दार्जिलिङ निवासी निर्देशक प्रधानले बलिउडका चर्चित चलचित्रहरू ‘जग्गा जासुस’, ‘बादशाहो’, ‘हिटस् द फर्स्ट केस’, ‘धक धक’, लगायतका चलचित्र तथा सिरिजमा सह निर्देशन गरेका छन् । सिरिज अभिनेत्री सुरक्षा पन्तले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन् । उनले अब बन्ने चलचित्र तथा सिरिजहरू हलमा मात्र सीमित हुन नहुने बताउँदै नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् ।

सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यस सिरिजका निर्माताहरू आशिष राज महर्जन र लेविस राज महर्जन हुन् भने सह निर्माता कुनाल गुरुङ हुन् । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् । यसका सिनेमाटोग्राफर रोशन राई हुन् । राईले पनि बलिउडका केही चलचित्रमा सिनेमाटोग्राफी टिममा रहेर काम गरेका छन् । सिरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सह निर्देशन रहनेछ भने यम प्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।

प्रतिक्रिया