अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

‘दिमाग खराब’को अडानलाई साथ दिने निर्माता संघको निर्णय

बिआरटीनेपाल २०८० कार्तिक ३० गते ३:३७ मा प्रकाशित

चलचित्र निर्माता संघले ‘दिमाग खराब’ ले लिएको अडानप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ । आज बसेको संघको बैठकले सो चलचित्रका निर्माताले लिएको अडानलाई सही ठहर्‍याउँदै साथ दिने निर्णय लिएको हो ।

दिमाग खराबका निर्माता निर्देशकले विदेशी चलचित्र बराबरी शो पाउनुपर्ने तथा आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुई वटा शर्त अघि सारेका छन् । शर्त पूरा नभएको खण्डमा चलचित्र हलबाट उतार्ने उनीहरुको चेतावनी छ ।

यसै विषयमा छलफल गर्न आज निर्माता संघको बैठक बसेको थियो । बैठकमा ‘दिमाग खराब’का निर्माता निर्देशक पनि उपस्थित थिए । बैठकले ‘दिमाग खराब’ का तर्फबाट प्रस्तुत गरिएको माग समग्र निर्माताहरुकै भावनाबमोजिम रहेको निष्कर्ष निकालिएको निर्माता-कलाकार दीपकराज गिरीले बताउनुभयो ।

‘आम्दानीको ५० प्रतिशत हिस्सा पाउनुपर्छ भन्ने माग हामी निर्माताहरुले पहिल्यैबाट उठाइरहेका हौं । पटक पटक छलफल भए पनि सहमतिमा पुग्न सकिएको थिएन । अब चाहिँ निर्णायक ढंगले प्रस्तुत हुनुपर्छ भन्ने कुरा भयो’, गिरीले भन्नुभयो ।
नेपाली चलचित्र हलमा लाग्दा सुरुको दुई हप्ता हल सञ्चालक र निर्माताबीच टिकटबाट उठेको रकम आधाआधा बाँडफाँट हुने गरेको छ । तर, तेस्रो हप्तापछि भने हल सञ्चालकले ६५ प्रतिशत र निर्माताले ३५ प्रतिशतमात्रै पाउँछन् । विगतमा निर्माता संघ र हल सञ्चालकबीच सहमति भएरै यो सूत्र लागू भएको हो । तर, अधिकांश निर्माता यसमा सन्तुष्ट छैनन् । निर्माताले निरन्तर ५० प्रतिशत शेयर पाउनुपर्ने उनीहरुको माग छ ।

‘दिमाग खराब’को मागलाई लिएर प्रदर्शकहरुको तर्फबाट कुनै पनि धारणा आइसकेको छैन । हल सञ्चालकहरुको संगठन चलचित्र संघको पनि बैठक बसिरहेको छ । आज सहमतिमा नपुगेको खण्डमा भोलिबाट ‘दिमाग खराब’लाई हलबाट उतार्ने निर्माताको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू