अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 11:11

एक्काइस वर्षे नेपाली भाषी बने शेरिफ

बिआरटीनेपाल २०८० असोज ७ गते २२:४७ मा प्रकाशित

कोलोराडो । भुटानी मूलका नेपाली रघु धौराली २१ वर्षको उमेरमा प्रहरी अधिकृत बनेका छन् । उनी अरोरा, कोलोराडोमा प्रहरी अधिकृत बन्ने सबैभन्दा कम उमेरका नेपाली भाषी भुटानी हुन् ।

नेपालमा जन्मिएर अमेरिका बसाइ सरेका रघु कडा सङ्घर्ष र दृढ सङ्कल्पका कारण प्रहरी अधिकृत बन्न सकेका हुन् । उनले सुरुमा अरोरा पुलिसमा पुलिस एक्स्प्लोररका रूपमा आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि प्रहरी अधिकृत बन्नका लागि आवश्यक विभिन्न प्रशिक्षण लगनशीलताका साथ पुरा गरेका थिए । पहिलो नेपाली प्रहरी अधिकृतका रूपमा रघुलाई पाउनु यहाँ स्थित नेपाली समुदायका लागि गर्वको विषय बनेको छ ।

भुटानमा परापूर्व कालदेखि बसोबास गरिरहेका नेपाली अल्पसंख्यक र भुटान सरकारबिच भएको राजनीतिक द्वन्द्वका कारण सन् १९९० को दशकमा उनको परिवार नेपाल विस्थापित भएको थियो । शिक्षा, स्वास्थ्य र अन्य आधारभूत आवश्यकता सम्मको पहुँच पनि साँघुरो भएको त्यो बेलामा नेपालमा जीवन सहज थिएन । तर, रघु धौरलीको परिवारले उनलाई शिक्षा र लगनशीलताको महत्त्व बुझाए । उज्ज्वल भविष्यका लागि सधैँ उत्प्रेरित गरे ।

समस्याका बाबजुद रघुले इगल क्रेष्ट हाइ स्कुलबाट आफ्नो विद्यालय स्तरको शिक्षा हासिल गरे । त्यसपछि उनले कोलोराडो फिल्म स्कुलबाट छायाङ्कन (सिनेमाटोग्रफी) मा स्नातक तहको अध्ययन पुरा गरे । सानै छाँदादेखि फिल्म छायाङ्कनमा रुचि राख्ने रघुले फिल्म स्कुल जानु अघि नै आफैँ छायाङ्कन सिकेको थिए । उनले छायाङ्कनमा विभिन्न पुरस्कार तथा सम्मान पनि पाएका छन् । साथै, समुदायमा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई प्रेसिडेन्सियल सर्भिस अवार्ड समेत प्रदान गरिएको छ ।

रघुको परिवार सन् २०११ का भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत कोलोराडोको अरोरा आएका हुन् । आप्रवासीका रूपमा विभिन्न समस्या झेल्नु परे पनि उनी आफ्नो उद्देश्यप्रति कहिल्यै विचलित भएनन् र नयाँ ठाउँमा आएर निरन्तर समुदायमा सहयोग समेत पुर्‍याइ रहे ।

प्रतिक्रिया