अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

अष्ट्रेलियामा राहदानी नवीकरणको माग बढ्दो, कर्मचारी अभावले दूतावासलाई सेवा प्रवाहमा हम्मे हम्मे

बिआरटीनेपाल २०८० साउन ४ गते ६:३५ मा प्रकाशित

कर्मचारी अभावले माग अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरूलाई राहदानी सेवा प्रदान गर्न समस्या भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।दैनिक दुई सय जनाले राहदानी नवीकरणको माग भए पनि दुई वटा कम्प्युटरमा दुई जना कर्मचारीले दैनिक ६० देखि ७० जनालाई मात्र सेवा दिन सकिएको अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले बताउनुभएको छ ।यसबाहेक राहदानी हराएर, म्याद सकिएर वा बिग्रिएर आउनेहरूका लागि दूतावासले तत्काल सेवा दिने गरेको छ ।

राहदानी नवीकरणको माग अत्यधिक भएपछि दूतावासमा उपलब्ध जनशक्तिले नभ्याउने भएपछि थप घुम्ती टोलीको समेत माग गरिएको राजदूत पोखरेलले बताउनुभयो ।विद्युतीय राहदानीको आवेदन अनलाइनबाटै दिने भ पनि बायोमेट्रिक र फोटो खिच्न कार्यालयमै उपस्थित हुन पर्छ । दूतावासका अनुसार दैनिक दूतावासमा दुई सयभन्दा बढी फोनहरू आउने गरेको छ । जसमध्ये कर्मचारीले दैनिक झण्डै ५० जना जतिको मात्र फोन उठाउन सकिएको र दैनिक आउने एक सय हाराहारी इमेल भने कर्मचारीले बिहान बेलुका अफिस बाहेकको समयमा जवाफ दिने गरेको राजदूत पोखरेलले बताउनुभएको छ ।

आफू अष्ट्रेलियाका लागि राजदूत भएर गएको एक वर्षमा गरेका कामहरूको स्मरण गर्दै उहाँले भन्नुभएको छ ‘सन् २००७ मा अष्ट्रेलियामा नेपाली दूतावास खुल्दा नेपालीहरूको सङ्ख्या पाँच सात हजार थियो तर अहिले सन् २०२३ मा आइपुग्दा एक लाख २२ हजारभन्दा धेरै भएको छ तर दूतावासमा भने उही पाँच हजार नेपालीलाई सेवा दिने कर्मचारीहरूले ठूलो सङ्ख्यामा रहेका नेपालीलाई सेवा दिइरहनुभएको छ ।’ दूतावासमा अहिले राजदूतसहित चार जना कर्मचारी कार्यरत रहेका छन् ।

यही कर्मचारीले नै इमेल हेर्नेदेखि फोन उठाउने र राहदानीको काम पनि गर्ने भएकाले राहदानी सम्बन्धी सामान्य जानकारीका लागि दूतावासमा फोन नगर्न र दूतावासको वेबसाइटमा उपलब्ध सूचनाहरू राम्रोसँग पढ्न दूतावासले अनुरोध गरेको छ ।यस्तै पछिल्लो समय अष्ट्रेलियामा नेपालीहरूको सङ्ख्या दिनहुँ बढिरहेको भन्दै दूतावासले दीर्घकालीन रूपमा नै कर्मचारी थप गर्न र बायोमेट्रिक लिनका लागि अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न राज्यहरूबाट नै सेवा प्रदान गर्ने गरी सेवा विकेन्द्रित गर्न माग गरेको छ । गएको वर्ष अष्ट्रेलियामा रहेको नेपाली दूतावासबाट ९ हजार २३५ वटा राहदानीको प्रक्रिया भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू