अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

एसीसी इमर्जिङ टिम्स एसिया कप- नेपाल तीन विकेटले विजयी

बिआरटीनेपाल २०८० साउन ३ गते ६:४७ मा प्रकाशित

एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएई ए लाई ३ विकेटले पराजित गरेको हो । पि सारा ओभल कोलोम्बोमा भएको खेलमा युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । सन्दीप जोरा र देव खनालले समान २४÷२४ रन बनाए । युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । इथान डी सोजाले १८ रन बनाउँदा अस्वन्त भालथपाले १६ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका थिए । नेपालले सान्त्वना जित हात पारेको हो ।

युएईले जितबिहिन हुँदै प्रतियोगिता सकाएको छ । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । युएईले दोस्रो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ । प्रतियोगिताको फाइनल खेल २३ जुलाईमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू