अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

एएनए डेनभर सम्मेलन २०२३ मा आयोजित गजल उत्सव-५ भव्य रुपमा सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०८० असार २० गते १७:५४ मा प्रकाशित

कोलोराडो । एएनए डेनभर सम्मेलन २०२३ मा गजल यात्रा र अनेसास, कोलोराडोद्वारा संयुक्त रुपमा आयोजित गजल उत्सव ५ भव्य रुपमा सम्मन्न भएको छ । ए.एन.ए. सम्मेलनको दोस्रो दिन जुलाई २ तारिख आइतवार दिउँसो २ बजेबाट शुरु गरिएको कार्यक्रम करिब ४ घण्टासम्म चलेको थियो । कार्यक्रमको शुरुवात गजल गायनबाट भएको थियो जसमा महेश्वर पन्तले दुई र अंकित न्यौपानेले तीन गजल गाउनुभएको थियो । महेश्वर पन्तले आफ्नै रचना गाउनुभएको थियो भने अंकित न्यौपानेले आचार्य प्रभा र भुपेन्द्र महतद्वारा रचित तथा मनोजराज शिवाकोटीद्वारा सङ्गीत गरिएको दुई गजल गाएर उपस्थित दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो । गजल गायनको निमित्त वाद्यवादन गर्नुहुनेहरूमा हार्मोनियममा मनोजराज शिवाकोटी, तवलामा सुरेन्द्र महर्जन, गितारमा मनोज तुलाधर, र म्यान्डलिनमा सुरेश प्रधान हुनुहुन्थ्यो ।

कार्यक्रममा दोस्रो चरणमा अमेरिकाको विभिन्न राज्यहरू तथा कोलोराडोमा रहनुभएको २२ जना गजलकारहरू प्रत्येकले दुई दुई वटा गजल वाचन गर्नुभएको थियो । यसरी गजल वाचन गर्नुहुने गजलकारहरूमा क्यालिफोर्नियाबाट खिम केसी र प्रमोद अमात्य; कोलोराडोबाट पदम विश्वकर्मा, भुपेन्द्र महत, डा. खगेन्द्रप्रसाद दाहाल, केशव आचार्य, आचार्य प्रभा, मिलन कोइराला, मनोजराज शिवाकोटी, सन्तोष पाण्डे ‘हिलियम’, र पार्वती शर्मा; मेरिल्याण्डबाट रोहित राना; म्यासाचुसेटबाट गोवर्द्धन पूजा; नेब्रास्काबाट डा. खगेन्द्र दाहाल; न्युयोर्कबाट बिष्णुहरी भण्डारी; पेन्सेलभिनियाबाट सुशील ताम्राकार; टेक्सासबाट सतीश त्रिपाठी, बासु पौडेल, बासु पुष्पा अधिकारी, पवन लामिछाने, रोशन श्रेष्ठ; भर्जिनियाबाट राज क्षेत्री ‘राहुल’ र प्रकाश आचार्य हुनुहुन्थ्यो । फरक शैलीमा प्रस्तुत गरिएको गजल वाचन र गायनको उक्त कार्यक्रमलाई उपस्थित दर्शक श्रोताहरुले अत्याधिक मन पराएका थिए । कार्यक्रमको अन्त्यमा ए.एन.ए.का अध्यक्ष विजयराज भट्टराई, गजल यात्राका संयोजक पवन लामिछाने तथा अनेसास, कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले उत्सवमा भागलिने गायकहरू र वाद्यवादकहरू, गजलकारहरू, पत्रकारहरू र स्वयमंसेवकहरूलाई प्रसंशापत्र प्रदान गरेका थिए ।

२०१८ मा पहिलो पटक टेक्ससको डालसबाट शुरु गरिएको गजल उत्सवको दोस्रो संस्करण गजल उत्सव २ पनि टेक्ससको डालसमै २०१९ मा सम्पन्न भएको थियो । यसै गरी गजल उत्सव ३ ओहायोको सिनसिनाटीमा २०१९ मा, गजल उत्सव ४ टेक्ससको ह्युस्टनमा २०२१ सम्पन्न भएको थियो । एएनए डेन्भर सम्मेलनमा आयोजना गजल उत्सव ५ मा यसको छैटौँ संस्करण गजल उत्सव ६ बस्टन म्यासाचुसेटमा गर्ने घोषणा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू