अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

म माथि आक्रमणको प्रयासमा पूर्वराजा शाह र उनका परिवारको संलग्नता छ : अध्यक्ष ओली

बिआरटीनेपाल २०८० वैशाख १७ गते ६:५४ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गर्नुभएको छ ।पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरुमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकीर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरुले ढुंगामुढा गरेको पनि बताउनुभयो ।

हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने तर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उहाँको भनाई थियो । ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसहरुले आफूमाथि आक्रमण प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाउनुभयो ।उहाँले वर्तमान गठबन्धन सरकारले मुखले जे सुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै आपत्ति जनाउनुभयो । आफूहरुमाथि गाली बेइज्जति, अश्लिल शब्दको बर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीले बताउनुभयो ।

त्यस अवसरमा ओलीले फटामा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी समेत गर्नुभयो । स्वार्थी तत्व र बिकाउ मालहरु, अपराध कर्ममा लागेकाहरुले मात्रै राजतन्त्रलाई मान्ने उहाँको आरोप थियो ।अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरुले सच्याएको दावी समेत गर्नुभयो । बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतीलाई खारेज गरेर आफूहरुले बाँध बाँध्न मात्रै जमिन दिने गरी सो सन्धिलाई सच्याइएको ओलीको तर्क थियो ।

उहाँले महाकाली सन्धि आफूहरुले सच्याएपछि त्यसबाट अनेक फाईदा भईरहेको पुरानै अडान दोहोर्‍याउनुभयो । उहाँले महाकाली सन्धिलाई सच्याउने काम आफूहरुले प्रतिपक्षमा रहेर गरेको तथ्य अहिले नबुझ्नेहरुले पछि बुझ्दै जाने बताउनुभयो । अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले भारतलाई जमिन दिने गरी गरिएको सम्झौंतालाई होइन् भनेर नेपाली जनतालाई ढाँटने काम गरेपछि आफूहरुलाई त्यसलाई सच्याउने काम आफूहरुले गर्नु परेको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू