अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक- राष्ट्रपति पौडेल

बिआरटीनेपाल २०७९ चैत ४ गते ७:५६ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुुभएको छ । शनिबार शीतल निवासमा संघीय र प्रदेश सांसदहरूका लागि राखिएको चियापान समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले पनि मुलुकमा थुप्रै चुनौती रहेको र त्यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुुभयो ।

राष्ट्रपति पौडेलले मुलुकमा अहिले पनि थुप्रै चुनौती रहेको र कोभिड–१९ महामारीपछि विश्वव्यापीरुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको बताउनुुभयो । संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवं जलवायु परिवर्तनले देखापर्न थालेका असरको न्यूनीकरण तथा राजनीतिक उपलब्धिको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता रहेको उहाको भनाई थियो ।

प्राप्त राजनीतिक उपलब्धिको सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ सबै गम्भीर हुन आवश्यक रहेको पौडेलको भनाई थियो । राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ संघीय सरकार तथा संघीय संसद् र प्रदेश सरकार तथा प्रदेशसभाका सदस्यले सकारात्मक भूमिका खेल्ने आफ्नो अपेक्षा रहेको बताउनुुभयो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसद, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सदस्यलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू