अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

राष्ट्रपति पद मेरा लागि होइन, मैले बाहिर बसेर गर्नुपर्ने काम धेरै छ : डा. सन्दुक रुइत

बिआरटीनेपाल २०७९ माघ ४ गते ५:२० मा प्रकाशित

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएकाे बताउनुभएको छ ।बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा डा. रुइतले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो । उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएरभन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने काम धेरै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबर स्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरा लागि होइन । मैले आफ्नो लिमिटेशन र स्थान राम्रोसँग बुझेको छु ।’डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताउनुभयो । आफ्नो जीवनकै ठूलो कमाइका रूपमा इसा अवार्डलाई हेरेको उहाँकाे भनाइ छ । सरकारले यो अवार्डलाई कसरी लिन्छ भन्नेबारेमा आफूले ध्यान दिइरहेको उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘यस्तो खालको ग्लोबल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो । संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्ने कुरा थाहा भयो र नेपालीको आत्मसम्मान प्रतिष्ठालाई बचाउन धेरै ठूलो सहयोग गरेको छ । यो जीवनकै कमाइ हो । यो जिन्दगीको तपस्याको फल हो । यही कुरा विदेशीले भन्दा नेपालीले दुई, तीन गुणा बढी मेहनत गर्नुपर्छ । राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु । हामीले नेपालमा धेरै ठाउँमा आँखाको क्षेत्रमा पहुँच विस्तार गर्नुपर्छ ।’

भर्खरै बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएपछि डा. रुइतले आज पत्रकार सम्मेलन गर्नुभएको थियो । इसा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू