अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९ | Colorodo: 14:34

मधेस प्रदेशले मात्र सङ्घीयता टिकाएकाे छ : मुख्यमन्त्री राउत

बिआरटीनेपाल २०७९ पुष १८ गते ४:२६ मा प्रकाशित

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अझै पनि सङ्घीयता कार्यान्वयनमा चुनौती रहेको बताउनुभएकाे छ । प्रदेश सांसदहरूको शपथ ग्रहणपछि आज साेमवार बसेको पहिलो प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सङ्घीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताउनुभएकाे हाे । नयाँ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै मुख्यमन्त्री राउतले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको समन्वयमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

‘चुनौतीका बीच प्रदेश सभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाउँदा सबै दलको सहयोग सरकारका लागि महत्त्व राख्दछ’, उहाँले भन्नुभयाे, ‘ऐन र नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गर्न सकारात्मक सहयोग प्राप्त भयो ।’ सङ्घीयता कार्यान्वयनकै लागि सङ्घीय सरकारविरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नुपरेको पनि उहाँले बताउनुभयो । देशमा मधेस प्रदेशले मात्र सङ्घीयता टिकाएको दाबी गर्दै मुख्यमन्त्री राउतले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढेमात्रै सङ्घीयता कार्यान्वयन हुने उल्लेख गर्नुभयो ।

स्रोत, साधनको अभावबीच पाँच वर्षको यात्रा निकै कष्टकर भएको पनि मुख्यमन्त्री राउतको गुनासो थियो । मुख्यमन्त्रीका रूपमा काठमाण्डाै जाँदा तीनकुनेमा गाडी बिग्रिएर अलपत्र परेको अनुभव पनि उहाँले सुनाउनुभयो । पाँच वर्षे कार्यकालमा कार्यकक्ष र कर्मचारी अभावले भनेजस्तो काम गर्न नसकेको पनि उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू