अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार

बिआरटीनेपाल २०७९ पुष १६ गते ५:०४ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले आइतबारसम्ममा सरकारमा सहभागिताको विषयमा निर्णय गर्ने भएको छ । शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने बताइएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकको जानकारी दिँदै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको जिकिर गर्नुभएको छ ।

बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्ने लगायत विषयमा निर्णय गरेको जानकारी दिँदै प्रवक्ता खतिवडाले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयो । उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको अफर नआएको समेत जिकिर गर्नुभयो ।बैठकमा पूर्व सत्तागठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने पूर्व सर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको प्रवक्ता खतिवडाको भनाई छ ।

बैठकको सुरुवात गर्दे पार्टी अध्यक्ष माधवकुमार नेपालले समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको बताउनुभएको थियो । यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरुसँग छलफल गर्नुभएको थियो ।नेपालले कांग्रेस र सभापति शेरबहादुर देउवाले समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको दाबी गर्नुभएको थियो । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले र नकपा माओवादी केन्द्रसहितका दलहरुको नयाँ गठबन्धन निर्माण भएको छ । गठबन्धन निर्माण गर्ने निर्णयमा आफूलाई संलग्न नगराएको भन्दै एकीकृत समाजवादी अध्यक्ष नेपाल असन्तुष्ट रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू