अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

ब्राजिलियन फुटबल हस्ती पेलेकाे निधन

बिआरटीनेपाल २०७९ पुष १५ गते ५:०३ मा प्रकाशित

ब्राजिलियन फुटबल हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय मृर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको बिहिबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा कोलोन क्यान्सरको उपचारकै क्रममा निधन भएको हो । पेलेकी छोरी केली नासिमेन्तोले बिहिबार राति आफ्ना पिता पेलेको स्वर्गारोहण भएको विवरण सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् ।

पेलेको पूरा नाम ‘एड्सन आरान्तेस दो नासिमेन्तो’ हो । पेले विश्व फुटबलले पाएका अहिलेसम्मकै सर्वाधिक सफल र चामत्कारिक खेलाडी हुन् । सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप फुटबल जिताउन महत्वपूर्ण भूमिका निभाएका पेले ३ पटक विश्वकपको उपाधि जित्ने अहिलेसम्मका एक मात्र खेलाडी हुन् । २१ वर्षको खेल जीवनमा ब्राजिलियन फुटबल हस्ती पेलेले थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । ब्राजिललाई ३ पटक विश्वकप जिताएका पेले विश्व फुटबलका पर्याय नैं हुन् ।

पेले विश्व फुटबलले पाएको अहिलेसम्मकै सफल र चामत्कारिक खेलाडी हुन् । उनको पूरा नाम ‘एड्सन आरान्तेस दो नासिमेन्तो’ हो । १५ वर्षको उमेरमै सिनियर टिमबाट डेब्यु गरेका पेलेले १६ वर्षको उमेरमा सन् १९५७ को जुलाई ९ मा ब्राजिलको जर्सीमा पहिलो खेल खेलेका थिए । ऐतिहासिक मराकाना रंगशालामा अर्जेन्टिना विरुद्धको त्यो खेल पेलेका अद्धितीय करियरको पहिलो खुट्किलो थियो ।

पेलेको चर्चा भने सन् १९५८ को विश्वकपबाट सुरु भयो । स्वीडेनमा भएको उक्त विश्वकपमा ब्राजिल च्याम्पियन बनेकाे थियाे। फाइनलमा ब्राजिलले स्वीडेनलाई ५–२ ले हराउँदा १७ वर्षका किशोर खेलाडी पेलेले दुई गोल गरेका थिए । ब्राजिलले सन् १९६२ मा विश्वकप जित्दा पनि पेले प्रमुख खेलाडी भएका थिए । सन् १९६६ को विश्वकपमा ब्राजिल र पेलेका लागि सम्झनलायक रहेन । विश्वकपको यो संस्करण आयोजक टोली इंग्ल्याण्डले जितेकाे थियाे ।

चार वर्षपछि सन् १९७० को विश्वकपमा पेलेको वास्तविक ख्याति प्राप्त भयो । मेक्सिकोमा भएको त्यस विश्वकपमा ब्राजिललाई च्याम्पियन बनाउन पेलेले इटाली विरुद्धको फाइनलको सुरुमै गोल गरेका थिए । यो विश्वकप जितेको ब्राजिलीयन टोलीलाई अहिलेसम्मकै सबै भन्दा महान् टिम पनि मानिन्छ ।

ब्राजिललाई ३ पटक विश्वकप फुटबल जिताएका पेले यो सफलता हात पार्ने अहिलेसम्मका एक्लो खेलाडी हुन् । सन् १९५६ मा किशोर खेलाडीका रूपमा ब्राजिली क्लब सान्तोसबाट खेल जीवन सुरु गरेका पेलेले १९७७ मा अमेरिकाको न्युयोर्क कसमसमा पुगेर व्यवसायिक खेल जीवनलाई पूर्णविराम लगाए । उनले आफ्नो फुटबल करियरमा १३ सय ६३ खेल खेल्दै १२ सय ८१ गोल गरेका छन् । जुन अहिलेसम्म कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो ।

देशका लागि ९२ खेलमा पेलेले ७७ गोल गरेका छन् । फुटबल खेल्न् पेले, जहाँ-जहाँ पुगे, त्यहाँ सबैको मन जितेका थिए । सन् २००० मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पेलेलाई यो शताब्दीकै उत्कृष्ट खेलाडीको दर्जा दिएकाे थियाे ।

पेलेले फुटबललाई विश्वभर चल्ने र बुझ्ने भाषा बनाएका छन् । विश्वका हरेक कुना कन्दराका मानिसलाई फुटबलकै माध्यमबाट दु:ख बिर्साउने माध्यम बन्न सफल भएका थिए । उनले विश्वलाई नयाँ ब्राजिल पस्किएर फुटबललाई नयाँ परिभाषा दिएका छन् । नयाँ पुराना सबै पुस्ताको लागि पेले प्रेरणा हुन्, माया हुन्, फुटबलका पर्याय हुन् । विश्व फुटबलका सम्राट पेले अनन्त: यात्रामा निस्किए पनि विश्व फुटबलको आकाशमा पेले सधैं चम्किरहने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू