अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

प्रधानमन्त्री प्रचण्डको राजनीतिक यात्रा

बिआरटीनेपाल २०७९ पुष १० गते ६:१३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बन्नुभएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म विसं २०११ साल मङ्सिर २६ गते ढिकुरपोखरी २ कास्कीमा भएको हो । मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गर्नुभएको छ । २०२८ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहबाट राजनीति सुरु गर्नुभएका प्रचण्ड २०३१ सालमा मार्क्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन ९चौम० मा प्रवेश गर्नुभयो । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य बन्नुभएका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित हुनुभयो । २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक सङ्घको महासचिव हुनुभएका प्रचण्ड २०४० सालमा अनेयुसङ्घको अध्यक्ष बन्नुभयो । युवक सङ्घको अध्यक्ष बनेपछि पार्टी नेतृत्वमा पुग्ने उहाँको यात्रा निकै तीव्र गतिमा अघि बढेको पाइन्छ ।

उहाँ २०४१ सालमा नेकपा मसालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिट ब्युरो सदस्य बन्नुभयो । २०४२ मा पार्टी विभाजनपछि उहाँ मोहन वैद्य किरणतिर लाग्नुभयो । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर कान्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडेलगत्तै पार्टी प्रमुख अर्थात् २०४६ मा महामन्त्री बन्नुभएका प्रचण्ड अहिलेसम्म पार्टीको प्रमुख नै हुनुहुन्छ ।

प्रचण्डकै नेतृत्वमा माओवादीले २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्ध लडेको थियो । २०७८ पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट पनि उहाँ अध्यक्षमै चयन हुनुभएको छ । यसअघि २०७४ सालको चुनावपछि एमाले र माओवादीको एकता भएर गठन भएको तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । उहाँ २०६४ सालमा सम्पन्न संविधान सभा चुनावमा काठमाण्डौ–१० र रोल्पा–२ बाट निर्वाचित भएपछि उहाँ २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । संविधान सभाको दोस्रो चुनाव २०७० सालमा काठमाण्डौ १० बाट पराजित भए पनि उहाँ सिरहा ५ बाट निर्वाचित हुनुभयो । २०७३ सालमा उहाँ दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । २०७४ सालको चुनावमा उहाँ चितवन क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएको थियो । गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा उहाँ गोरखा क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको छ । योसँगै उहाँ तेस्रो पटकका लागि प्रधानमन्त्री बन्नुभएको हो ।

 

 

प्रतिक्रिया