अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

प्राज्ञलाई चुनौती दिँदै नाट्य सङ्गीतका कर्मचारीले गरे सांस्कृतिक कार्यक्रम

सरिता भारती २०७९ पुष ४ गते १२:०९ मा प्रकाशित

काठमाडौँ, विभिन्न कलाकारले आफ्ना चर्चित गीतहरू सुनाएर दर्शकको मन जितेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी सङ्घले प्रतिष्ठानकै नक्साल स्थित भवनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा कलाकारहरूले आफ्नो गीत सुनाएर प्राज्ञहरू तथा कर्मचारीको मन जितेका हुन् । प्राज्ञहरूले ठुलो बजेटमा सांस्कृतिक कार्यक्रम गर्दै आएको बेला कर्मचारीहरूले आफैँले पैसा उठाएर सांस्कृतिक कार्यक्रम गर्दै प्राज्ञहरूलाई उदाहरण देखाएका छन् ।

कार्यक्रममा गायक विपिन घिमिरे र गायिका शिला विष्टले देउडा देखि आधुनिक भाका सुनाए । उनीहरूले युगल रूपमा दुई वटा गीत प्रस्तुत गरेका थिए । यस्तै गायक शिशिर योगीले सारङ्गी त…सहित अन्य गीत प्रस्तुत गरेर दर्शकको मन जिते ।

यस्तै लोक गायक विमलराज क्षत्रीले बुट्टे रुमाल गीत गाउँदा दर्शकले तालीले साथ दिए । उनले कार्यक्रममा अन्य गीत पनि प्रस्तुत गरेका थिए । यस्तै सो प्रतिष्ठानका कर्मचारीले पनि कार्यक्रममा नृत्य एवम् कविता, गजल प्रस्तुत गरे । कर्मचारी लाम्च्युङ लामा तामाङले राष्ट्रिय भावको गीतमा नृत्य गरिन भने कर्मचारी विजय श्रेष्ठले मलाई लाज लाग्छ शीर्षकमा कविता सुनाए । प्राज्ञ परिषद् सदस्य धिरेन्द्र प्रेमर्षीले प्रस्तुत गरेको गजलमा सबैले वाहवाही गरे । यस्तै ध्रुव वाग्लेले सुनाएको कविता पनि आकर्षक थियो ।

कार्यक्रममा सो कर्मचारी सङ्घका सदस्य नेत्रबहादुर भुजेल, नेपाल प्रज्ञा प्रतिष्ठान कर्मचारी सङ्घका अध्यक्ष अशोक चौरसियालगायतले प्रतिष्ठानमा कर्मचारीको दायित्वबारे आफ्नो भनाई राखे । नेपाल प्रज्ञा प्रतिष्ठानको अहिलेको परिषद्ले आफ्नो कार्यकाल सकेर पनि कानुन विपरीत कार्यक्रम गरेको चौरसियाले बताए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सभा सदस्य प्रदीप बमजनले प्रतिष्ठानमा कर्मचारीको योगदानबारे प्रकाश पारे भने सदस्य सचिव श्याम प्रकाश तमोटले कर्मचारी र परिषद्को समन्वयले मात्र प्रतिष्ठान अघि बढ्ने बताए ।

सो कार्यक्रम आयोजक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी सङ्घका अध्यक्ष हिलारी बन्धु भुजेलले नाट्य सङ्गीतको विकाशमा कर्मचारीको पनि योगदान रहेको जिकिर गरे । कलाकारहरूलाई प्रोत्साहन गर्न आफूहरूले विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको पनि उनले प्रकाश पारे ।

यस्तै सो प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ (रायन)ले प्रतिष्ठानले गर्नु पर्ने सांस्कृतिक कार्यक्रम कर्मचारीले गरेकोमा सो कार्यको प्रशंसा गरे । प्रतिष्ठानलाई अघि बढाउन र परिषद्लाई मार्गदर्शन दिन प्रतिष्ठानका कर्मचारीको पनि त्यत्तिकै ठुलो योगदान रहने उनले बताए ।

सम्बन्धित सामग्रीहरू