अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

१० औँ नेपाल अफ्रिका फिल्म फेस्टिबल: नेपाल सहित १५ देशका २६ फिल्म चयन

सरिता भारती २०७९ जेठ ६ गते १२:४७ मा प्रकाशित

काठमाडौँ, १० औँ संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको यो महोत्सवमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्येबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ ।

नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् । कोरोना महामारी मत्थर भएकाले यती बेला यो महोत्सव गर्न लागिएको पनि उनले बताएकी छिन् ।

नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताएकी छिन्,‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुराहरू मिल्दा जुल्दा छन् । अफ्रिकालाई अब हामीले पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नु पर्छ भनेर हामीले विगत १० वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौँ ।’
महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जस मध्य अधिकांश अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय बस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन् ।

महोत्सवका लागि फिल्म चयन भएका विदेशी मुलुकहरूमा बुर्किना फासो, इजिप्ट, ट्युनेशिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ट्रिया, जर्मनी, बेनिन, कङ्गो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।

महोत्सवमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जस मध्य ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ । जसमा द ब्लाक कर्नर, ऐना, राईज, शङ्का, कुईनेटो, गरिमा, द डटर, थर्ड आई रहेका छन् ।

यस्तै यस पटक विधार्थीहरुको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । फिल्मका विद्यार्थी फिल्म प्रतिस्पर्धामा विद्यार्थीहरूले बनाएको फिल्म राखिएको हो । जसमा झोल, सेप्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् ।

यस्तै विदेशी फिल्म तर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोप्ट अफ स्पेस टाइम, अल्जेरियाको ला चेम्बर, क्यामरुन लेश मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया÷अस्ट्रिया÷जर्मनीको लाइफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया÷युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन् । यस्तै इजिप्टबाट यस पटक दिई ईज माई नाइट, आजिया, द अदर चेक, एबाउट ए गर्ल सहित ४ वटा चलचित्र चयन भएका छन् ।