अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९ | Colorodo: 14:34

लोसपा नेता कर्णको जमानत जफत

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ६:१६ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । सत्ता गठबन्धनको समर्थनमा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका कर्णको जमानत जफत भएको हो ।

चौथो स्थानमा रहेका कर्णले १ हजार १ सय १७ मत प्राप्त गर्नुभयो । पर्सा १ मा जनता समाजवादी पार्टीका प्रदीप यादव २२ हजार ५ सय ३७ मतसहित विजयी बन्नुभएको छ । कांग्रेसले कर्णलाई समर्थन गरेपछि रुष्ट बनेर बागी उम्मेदवार दिएका नेपाली कांग्रेसका अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गर्नुभयो । प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार उम्मेदवारले जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । पर्सा क्षेत्र नम्बर १ मा ५१ हजार ३ सय ७९ मत खसेको थियो । बदर मत घटाउँदा पनि झन्डै ५ हजार मत ल्याउनुपर्नेमा कर्णको १ हजार १ सय १७ मतमात्रै आएको छ ।

सद्भावना परिषद्को सचिव भएर २०४० सालमा राजनीति सुरु गरेका कर्ण २०७४ सालको संसदीय चुनावमा पर्सा क्षेत्र नम्बर ४ बाट विजयी हुनुभएको थियो । पर्सा क्षेत्र नम्बर १ बाट २०४८ र २०५६ सालको चुनावमा पराजित हुनुभएका कर्ण २०६४ र २०७० सालको चुनावमा समानुपातिकतर्फबाट सभासद बन्नुभयो । माधव नेपाल नेतृत्वको सरकारमा १४ महिना विना विभागीय मन्त्री भएका कर्ण सद्भावना पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो । मधेसवादी दलको एकतासँगै राजपामा आबद्ध भएका नेता कर्ण अहिले भने लोसपामा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू