अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 13:55

आइतबार साँझदेखि सोमबारसम्म वर्षा र हिमपातको सम्भावना

बिआरटीनेपाल २०७९ कार्तिक २७ गते ५:१२ मा प्रकाशित

पश्चिमी वायुको असरले अबको २/३ दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।” आइतबार साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रमा पर्ने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ । त्यस्तै, प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का वर्षा हुनाका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा पनि आज प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार पनि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू