अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 06:29

पाषाण

गोपीराम भण्डारी 'बटुवा' २०७९ कार्तिक १९ गते २०:२९ मा प्रकाशित

घुम्छ समय, घुमेको छ
चेतन चञ्छु, गुमेको छ
युग पाषाणमा फर्कियो
कलिकाे बिगुल थर्कियो ।।

मान्छे हराए,भई गोली
न कर्म सत छन्, न बोली
विज्ञानले युग चर्कियो
पुनः पाषाणमै फर्कियो।।

किरण तेज छ रबीको
भाव मधुर छ कविको
सर्वत्र इश्या नै चल्दछ
कलिलोमै मुना ढल्दछ ।।

नछोपे सत्य, यो लोकमा
काे हाँस्न सक्थ्यो शोकमा ?
चल्दैन चलाउँछ तत्त्वले
टिक्दछ जगत् सत्वले।।

इच्छाले न जीव जन्मियो
न धर्ती मण्डलमा अन्मियो
जे भयो त्यो,हुनु नै थियो
जे हुँदै छ त्यस्काे शेष यो ।।

युगै चढेर गरम छ
न लाज छ,न सरम छ
नेत्र ज्योति विहीन छन्
मस्तिष्क मतिहीन छन्।।

मान्छेले अति गरेको छ
जीव भोकले मरेको छ
क्षणभङ्गुर सबै मस्तीमा
मानव हराए बस्तीमा ।।

युग जन्माउने जिउँदै
जन्मेका युगले पिउँदै
दलदल जग क्षणमा
मानव पुनः पाषाणमा ।।