अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 06:30

उपहार

गोपीराम भण्डारी 'बटुवा' २०७९ असोज १६ गते १५:२७ मा प्रकाशित

ल खा ! ल खा ! उसले लगातार आफ्नो १० वर्षको छोरालाई बायाँ हातले कुटिरहेको थियो । बच्चा आइया, आइया भन्दै रोइरहेको थियो । उसलाई रोक्दै- ,”के गरेको यो अबोध बालकलाई, तिमीलाई दयामाया लाग्दैन? कसरी कुट्न सकेको ? खै देऊ त्यो लट्ठी” काइलाले हातको लट्ठी खोस्यो । बच्चा काइलाको पछाडि लुक्यो । “तिमी यति निस्ठुरी त हैनौ” काइलाले रिसाइरहेको उसलाई प्रश्न सोध्यो । “यो बदमासलाई समय अनुसार चल्नुपर्छ भनेर जति सिकाए पनि नलाग्ने”! ‌ऊ कडकियाे ।

“के बदमासी गर्‍यो र यसले” ? काइलाले बिचमै पश्न थाप्यो । उसले धारे हात लगाउँदै भन्यो ,”बहादुरी देखाएछ नि” । दुई जना पकेटमार लडाइ गर्दै रहेछन् यो बढ्ता जान्ने भएर १००मा फोन गरेर पुलिस बोलाएर पकडाएछ अनि त पुलिसले प्रहरी प्रतिवेदनमा यसको पनि बयान राखेर लग्यो । यसलाई इमानदारीको भूत कहिले नउत्रने भयो” ।

हैन के कुरा गर्छ यो ? बाबुले राम्रै काम गरेको रहेछ पुरस्कार दिनु पर्ने बेला पिट्ने ? तिमी त खत्तम रहेछौ । काइलाले हपार्‍यो ।

“तिमीलाई के थाहा? यो स्वार्थी र फटाहा समाजमा बाच्न इमानदारिताको बली दिनुपर्छ । कुरा बुझ्यौ ? मैले दुई वटा चोरलाई जेल हालेको फल मेरो यो दायाँ हात गुमाए । अदालतले चोरलाई दसी नभएको भनी छोड्यो, तर तिनीहरूले मलाइ छोडेनन् । धन्न हात मात्रै काटे । मेरो घाँटी काटेको भए ! ?

“यी हेर मेरो इमानदारिताको उपहार” भन्दै काटिएको हात देखायो । बच्चाले काइलाको पछाडिबाट भन्यो “त्यो तिम्रो हात काट्ने चोरलाई पनि म पुलिस भएर समाउँछु र सजाय दिन्छु नि” । उसले छोराको कुरा सुनेर झम्टन खोज्दै भन्यो “नापिस् पाजी कस्ता कस्ता कहाँ गए मुसा छोरा चौधरी” बच्चा दौडेर घरभित्र पस्यो । काइँलाले उसलाई भन्यो “बच्चो बहादुर निडर र इमानदार छ । उसको इच्छा नमार्नु” आदेश दिएर काँइलाे गयो । उसले मनमनै सोच्यो रगत त मेरो हो नि ? तर के गर्नु साला यो समाज —–