अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

राजसंस्था पुनःस्थापनाको एजेण्डा लिएर मतदातासँग भोट माग्छु : रवीन्द्र मिश्र

बिआरटीनेपाल २०७९ असोज १४ गते ५:१३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताउनुभएको छ । शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार औंपचारिक रुपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आगामी निर्वाचनमा जाने आफ्नो मूल एजेण्डाबारे प्रष्ट्याउनु भएको हो ।

राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उहाँले संविधानले बाँधेर राखेको राजसंस्था पुनःस्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताउनु भयो । यसरी जाँदा भोट नपाए पनि आफूले खुशीसाथ मतदातालाई धन्यवाद दिने उहाँको भनाई थियो ।वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाडौं क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताउनुभयो । उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेण्डालाई हेरेर विजयी गराउने विश्वास समेत व्यक्त गर्नुभयो ।

निर्वाचनमा मतदाता कहाँ जाँदा आफूले ढाँटेर भोट माग्ने काम नगर्ने पटकपटक दोहोर्याउदै वरिष्ठ उपाध्यक्ष मिश्रले गत निर्वाचनमा पनि आफूले सुकुम्बासीलाई लालपूर्जा दिन्छु भनेर फटाहा कुरा नगर्दा ८१९ मतले हार्नु परेको गुनासो गर्नुभयो । कार्यक्रममा बोल्दै राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द लोहनीले देश र जनताका लागि केही गरौं भन्ने भावका साथ राजनीतिमा आएका मिश्रलाई आगामी निर्वाचनमा विजयी गराउन काठमाडौं क्षेत्र नम्बर १ का जनतालाई आग्रह गर्नुभयो । उहाँले ठूला दलहरु देश र जनताका लागि नालायक भएकाले पनि आगामी निर्वाचनमा नेपाली जनताले त्यसको विकल्पमा आफ्नो पार्टीलाई विजयी गराउनुपर्ने जिकीर गर्नुभयो ।

लोहनीले अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई नेपाली जनताले फेरि पनि निर्वाचनमा विजयी गराएर गल्ती गर्न नहुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू