अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

त्रिविकाे समस्या समाधान गर्न सरकारलाई सभामुखकाे रुलिङ

बिआरटीनेपाल २०७९ भदौ १३ गते १:४१ मा प्रकाशित

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका बिरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएकाे हाे । उहाँले त्रिभुवन विश्वविद्यालयको समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,-‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका बिरोध कार्यक्रमहरुले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शिघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु ।’यसअघि प्रतिनिधि सभाकाे बैठकमा समय लिएर बोल्दै नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गर्नुभएको थियो । बैठकमा बोल्दै उहाँले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरुमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

विश्वविद्यालयमा यसरी प्राध्यापकहरुमाथि आक्रमण हुनु तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने उहाँले बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयमा घटीरहेका घटनाहरुको सम्बन्धमा एमाले टुलुटुले हेरेर नबस्ने बताउनुभयो । सांसद ज्ञवालीले त्रिभुवन विश्वविद्यालय चरम गुण्डागर्दीले त्रसित रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको हो भन्दै प्रश्न समेत गर्नुभयो ।प्रधानमन्त्री र गृहमन्त्री स्वयम विद्यार्थी राजनीतिबाट मुलुकको शीर्ष स्थानमा पुगेको उल्लेख गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयमा भएको विकृतिलाई रोक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू