अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

कोलोराडोमा ८० औं मनुजयन्ती सम्पन्न

बिआरटीनेपाल २०७९ साउन २५ गते २२:१० मा प्रकाशित

सुप्रसिद्ध कथाकार तथा गजलकार मनु ब्राजाकीको ८० औं जन्म जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाद्वारा एक कार्यक्रमको आयोजना गरी ८० औं मनुजयन्ती मनाइयो । उक्त कार्यक्रममा मनु ब्राजाकी सम्बन्धी विविध सामाग्रीहरु प्रस्तुत गरिनुका साथै मनु ब्राजाकीको नवीनतम गजल संग्रहको लोकार्पण र कार्यक्रमका सहभागीहरुबाट मनु ब्राजाकीका गजलहरुको वाचन पनि गरिएको थियो । कार्यक्रमको आरम्भमा उपस्थित साहित्य अनुरागीहरुबाट मनु ब्राजाकीको तस्वीरमा पुष्पार्पण गर्दै श्रद्धान्जली व्यक्त गरिएको थियो । तत्पश्चात एनआरएनए, कोलोराडो शाखाद्वारा प्रकाशित गजल संग्रह ‘मनु ब्राजाकीका रोज्जा गजलहरु’को लोकार्पण गरिएको थियो । उक्त गजल संग्रहमा मनु ब्राजाकीका सर्वाधिक चर्चित १२५ वटा गजलहरु समावेश गरिएको छ ।

कार्यक्रममा लोकप्रिय रेडियोकर्मी अच्युत घिमिरेले मनु ब्राजाकीसँग लिनुभएको अन्तर्वाताका अंशहरुलाई आफ्नो टिप्पणी सहित प्रस्तुत गर्नुभएको थियो जसलाई उपस्थित सहभागीहरुले खुबै रुचाएका थिए । यसै गरी गायक तथा संगीतकार मनोजराज शिवाकोटीले मनु ब्राजाकीको ‘हीरा हुन् कि मोती हुन्’ बोलको गजल गाएर सबलाई मन्त्रमुग्ध बनाउनु भएको थियो जसमा वहाँलाई संगीतकर्मी मनोजकाजी तुलाधार तथा सुरेशचन्द्र प्रधानले साथ दिनुभएको थियो ।

अनेसास, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले मनु ब्राजाकीको विविध पक्षहरुको चर्चा गर्नुको साथै कार्यक्रमको विशेष अतिथि अच्युत घिमिरेको परिचय प्रस्तुत गर्नुभएको थियो । ‘मनु ब्राजाकीका रोज्जा गजलहरु’को प्रकाशन सम्बन्धी जानकारीहरु एनआरएनए, कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले प्रस्तुत गर्नुभएको थियो भने समालोचक बिमल अधिकारीले मनु ब्राजाकीको कृतित्व र व्यक्तित्व सम्बन्धमा छोटो चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको पछिल्लो चरणमा मनु ब्राजाकीका गजलहरुको वाचन गरिएको थियो । गजल वाचन गर्नुहुनेहरुमा बिडीए, कोलोराडो संयोजक श्रीराम लुइटेल, अनेसास केन्द्रीय सदस्य तारा अधिकारी, अनेसास कोलोराडो सल्लाहकार डा. विजयराज शर्मा, डा. भीमप्रकाश कट्टेल, र गजलकारहरु मिलन कोइराला, निर्मल प्याकुरेल तथा भुपेन्द्र महत हुनुहुन्थ्यो । कार्यक्रममा मनु ब्राजाकीको छोरी – ज्वाँई अपर्णा बस्नेत र बिष्णु बस्नेत, साहित्यकार पुष्पराज पौडेल, अनेसास ट्रष्टी सदस्य प्रमिला शर्मा, कोलोराडो सिस्टर्स ग्रुपको संयोजक धन पौडेल, नायक नवराज श्रेष्ठ, गीतकारहरु मणि बस्नेत र दामोदर लुइटेल आदिको उपस्थिति थियो । कार्यक्रमको संचालन अनेसास कोलोराडो शाखा महासचिव किरण अधिकारीले गर्नुभएको थियो भने सभापतित्व शाखा अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू