अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२७ | Colorodo: 10:42

इथियोपियामा भएको आक्रमणमा २ सय भन्दा बढी सर्वसाधारणको मृत्यु

बिआरटीनेपाल २०७९ असार ६ गते ७:२१ मा प्रकाशित

इथियोपियाको ओरोमिया क्षेत्रमा भएको पछिल्लो आक्रमणमा २ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । मारिनेहरु अम्हारा जातीय समूहको रहेका छन् । विद्रोही समूह ओरोमो लिबरेशन आर्मी (ओएलए) ले गरेको आक्रमणमा उनीहरूको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले जनाएकाे छ ।ओरोमियाको क्षेत्रीय सरकारले आक्रमणको पुष्टि गरेको भए पनि कति हताहत भए भन्ने बारेमा विवरण भने नखुलाएको समाचारमा उल्लेख छ । आक्रमणबाट बच्न सफल सर्वसाधारणका अनुसार आक्रमणमा मारिएकाहरूको शव सामुहिक रूपमा गाडिएको छ ।

उनीहरूले नागरिकहरूविरुद्ध अहिलेसम्मको सबैभन्दा घातक आक्रमण भएको प्रतिक्रिया दिएका छन् । घटनास्थलमा सुरक्षाकर्मी पुगे पनि पुनः आक्रमण हुन सक्ने भन्दै सर्वसाधारण त्रसित छन् ।करिब ३० वर्षअघि पुनर्वास कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने अम्हारा जाति अहिले नरसंहारको सिकार भएको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

जातीय द्वन्द्वले अफ्रिकाको दोस्रो–सबैभन्दा बढी जनसंख्या भएको देशलाई टुक्राउने धम्की दिएपछि यो आक्रमण भएको हो ।उत्तरी टिग्रे क्षेत्रमा सन् २०२० मा सुरु भएको लडाई गत वर्ष छिमेकी क्षेत्र अफार र अम्हारामा फैलिएको थियो ।

यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् । इथियोपियाका ११ करोडभन्दा बढी मानिसमध्ये दोस्रो ठूलो जातीय समूह अम्हारा समुदायलाई बारम्बार लक्षित गरि आक्रमण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू