अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

रुसले इटलीलाई दिने ग्यासमा कटौती गर्‍याे, इटलीमा ठूलो समस्या निम्तिने डर

बिआरटीनेपाल २०७९ असार ५ गते ८:१४ मा प्रकाशित

रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ । रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । गाजप्रोमले आज आइतवार लगातार पाँचौँ दिन पनि मागेजति ग्यास नदिएको ईएनआईले जनाएको छ । ईएनआईले रुसबाट दैनिक ६३ मिलियन क्युबिक मिटर ग्यास आपूर्ति गर्दै आएकोमा गएको बुधवारदेखि ५० देखि ८० प्रतिशतसम्म मात्रै ग्यास प्राप्त भएको इटलीले जनाएको छ ।

रुसले आपूर्तिमा रोक लगाउने क्रम जारी राखेमा इटलीले अर्को हप्ता नै नागरिकलाई ग्यासको खपत कम गर्न आग्रह गर्न सक्ने वा कोटा तोक्न सक्ने सम्भावना छ । रुसबाट ग्यास आपूर्तिमा कमी आएसँगै इटलीले उद्याेग प्रयोग कम गर्ने, कोइला पावर प्लान्टको क्षमता बढाउने र रुसबाहेकका निर्यातकर्तासँग ग्यासका लागि अनुरोध गर्न सक्ने पनि खबरमा उल्लेख छ ।

इटलीले आउँदो जाडोयामका लागि ९० प्रतिशत भण्डारण भर्ने लक्ष्य लिएको छ । अहिले भण्डारण क्षमताको ५४ प्रतिशत मात्रै ग्यास स्टक रहेको बीबीसीले जनाएको छ । रुसका प्रवक्ता दिभित्री पेस्काेभले मर्मतका कारण पछिल्ला केही दिनमा ग्यासको निर्यातमा कमी भएको दाबी गरे पनि इटलीका प्रधानमन्त्री मारिओ दाघ्रीले भने रुसले ग्यासमा राजनीति गर्न खोजेको आरोप लगाउनुभएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । यसलाई टक्कर दिन रुसले इन्धन कटौती गरिरहेको छ । पेट्रोलियम पदार्थ र ग्यासका लागि युरोप रुसमा निर्भर रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू