अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

बिआरटीनेपाल २०७९ जेठ १४ गते ४:५८ मा प्रकाशित

अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली टोलीलाई शनिबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले एक कार्यक्रमको आयोजना गरेर श्रृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार बिदाई गरेको हो । टोली आजै अमेरिका जाँदैछ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले बिदाई गरेको हो ।

भ्रमण टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सफलताको शुभकामना दिनुभयो । बिदाई कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गर्नुभयो ।धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि श्रृंखला निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आशावादी रहेको बताउनुभयो ।

पहिलो पटक श्रृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक श्रृंखला खेल्नेछ । श्रृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ ।नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।

लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्नेछ । आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नुपर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजाविहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ । १२ खेल खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुछारमा छ । अमेरिका पाँचौं स्थानमा छ भने नामिबिया चौथो स्थानमा रहेको छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू