अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

१६ नेपाली महिलालाई उद्धार

गोरखापत्र २०७५ साउन १८ गते २२:५२ मा प्रकाशित

काठमाडौँ, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आकर्षक रोजगारीका नाममा विभिन्न देशमा बेचिन लागेका १६ नेपाली महिलालाई उद्धार गरी घर पठाइसकेको जनाएको छ ।

दिल्ली महिला आयोगको सहयोगमा विभिन्न देशमा घरेलु कामदारका रूपमा पठाउन भन्दै भारतको दिल्लीका विभिन्न ठाउँमा बन्धक बनाएर राखिएका ती महिलालाई उद्धार गरी सीआईबीले बिहीबार नै उनीहरूलाई आ–आफ्नो घर पठाएको हो ।

सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता कृष्णहरि शर्माले उद्धार गरेर स्वदेश ल्याइएका १६ जना महिलासँगको प्रारम्भिक अनुसन्धानका क्रममा ती महिला स्वेच्छाले विदेशमा आकर्षक कमाउने प्रलोभनमा परेर त्यहाँसम्म पुगेको पाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्धार गरिएका ती महिलामध्ये अधिकांशलाई कुन देशमा के काम गर्न जान लागेको भन्ने नै जानकारी नभएको पाइयो । सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार ती महिलामध्ये पाँच जनाबाहेक अन्य सबै जना दोस्रो, तेस्रो र पाँचौँ पटक सोही प्रक्रियाबाट रोजगारीका लागि विदेश जान लागेको पाइयो । गोरखापत्र

विदेशमा आकर्षक कमाइ हुने प्रलोभनमा परेर गएका ती महिलाको उमेर २२ देखि ४६ वर्ष रहेको छ । नेपालको दलालमार्फत भारतको दलालको निगरानीमा त्यस ठाउँमा राखिएको पनि सोही अनुसन्धानका क्रममा जानकारी भएको सीआईबीले जनाएको छ । ती महिला इलाम, झापा, सिन्धुपाल्चोक, बर्दिया जिल्लाको रहेको पनि सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता शर्माले ती महिलालाई तेस्रो मुलुकमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारतमा बन्धक बनाउने व्यक्तिहरू फरार रहेकाले त्यो व्यक्ति खोज्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ती महिला स्वेच्छाले नै रोजगारीका लागि गएकाले ती महिलालाई त्यो अवस्थामा पु¥याउने व्यक्ति प्रक्राउ गरे पनि कारबाही गर्ने बलियो कानुनी आधार छैनन्, कानुनकै अभावका कारण ती व्यक्तिलाई कारबाही गर्न सकेका छैनौँ ।’

सङ्गठित रूपमा काम गर्ने दलालहरूले किर्ते गरिएका सरकारी कागजपत्र प्रयोग गरेर नेपालबाट महिलालाई भारतको बाटो हुँदै खाडी मुलुकमा पठाउने गरेको यो घटनाले पुष्टि गर्छ ।

यही मङ्गलवार र बुधवार नयाँ दिल्लीका विभिन्न स्थानबाट नेपाली राहदानी लिएर खाडी मुलुक हिँडेका ३९ जना नेपाली महिलालाई दिल्ली महिला आयोगको सहयोगमा उद्धार गरिएको समाचार सार्वजनिक भएको छ तर नेपाल प्रहरी सीआईबीले भने पछिल्लो घटनाबारे आफूहरूलाई कुनै जानकारी नभएको स्पष्ट पारेको छ ।

‘भ्रमण भिसामा जाने नेपालीका लागि दूतावासले त्यस्ता कागजात जारी गर्नु पर्दैन’ सीआईबीका प्रहरी उपरीक्षक शर्माले भन्नुभयो ‘धेरै नेपाली महिला भ्रमण भिसामा नै खाडीतर्फ जाने गरेको भेटिएको छ ।’

नेपाल सरकारले जोर्डनबाहेक खाडी मुलुकमा घरेलु कामदारका रूपमा नेपाली महिलालाई जान प्रतिबन्ध लगाएको छ । त्यो प्रतिबन्ध छल्नका लागि दलालले भारत र श्रीलङ्काको समेत बाटो रोज्ने गरेको सरोकारवालाहरूले बताउँछन् ।

 

सम्बन्धित सामग्रीहरू