अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता

बिआरटीनेपाल २०७८ माघ १८ गते ६:२१ मा प्रकाशित

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बताउनुभयो ।कार्यक्रममा उहाँले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

मन्त्री यादवले निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहज आवागमनको चाहनालाई छिटो पूरा गर्नेतर्फ लाग्न पनि दुवै देशका सम्बन्धित अधिकारीहरुसँग आग्रह गर्नुभयो ।कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक रहेको बताउनुभयो ।

भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरू भइरहेको उल्लेख गर्दै उहाँले उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । राजदूत क्वात्राले नेपाल र भारत सरकारको तर्फबाट महाकाली नदीमा बनाइने पुलको काम दुवै देशको सहकार्यमा समयमा नै सम्पन्न हुने विश्वास लिएको पनि बताउनुभयो ।

प्रतिक्रिया