अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 02:07

टाइम म्यागजिनद्धारा विश्वका १०० प्रभावशाली व्यक्तिको सुची सार्वजनिक

बिआरटीनेपाल २०७८ भदौ ३१ गते ७:१५ मा प्रकाशित

प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा विश्वका विभिन्न मुलुकका राजनीतिज्ञदेखि कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याउने अभियन्ता र उद्यमीसम्म अटेका छन् । टाइमले हरेक वर्ष विभिन्न ६ विधामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । यस वर्षको सूचीको नेतृत्व विधामा अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरसम्म रहेका छन् ।

त्यस्तै सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि पर्नुभएको छ । टाइममा ममताबारे भारतीय पत्रकार बर्खा दत्तले ‘प्रोफाइल’ लेखेकी छिन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा सीएनएनका पत्रकार फरीद जकारियाले प्रोफाइल तयार पारेका छन् । मोदीले मुलुकलाई ‘धर्मनिरपेक्षताबाट हिन्दु राष्ट्रवादतर्फ धकेलेको’ टाइमले उल्लेख गरेको छ ।

त्यस्तै सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावाला पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् । सिरमले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गर्दै आएको छ । त्यस्तै तालिबानका सहसंस्थापक र अहिलेको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरलाई टाइमले ‘शान्त, रहस्यमयी, सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ता कम दिने’ व्यक्तिका रुपमा चित्रित गरेको छ ।

यसैगरी, यस वर्षको सूचीमा विश्व व्यापार संगठन(डब्लूटीओ) की महानिर्देशक एनगोजी ओकोन्जो इवेला पनि पर्नुभएको छ । विश्वमा खोप अभियान एकता, सहकार्य र एनगोजीजस्तो नेतृत्वले गर्दा नै सम्भव भएको टाइमले उल्लेख गरेको छ । १६४ मुलुक सदस्य रहेको डब्लूटीओको महानिर्देशक बन्ने उहाँ पहिलो अफ्रिकी र पहिलो महिला हुनुहुन्छ । बेलायती राजकुमार ह्यारी र मेघनले उहाँको बारेमा प्रोफाइल लेखेका छन् । एनगोजीले महामारी अन्त्यका लागि सहकार्य र एकताका साथै खोपको समानुपातिक वितरण हुनपर्नेमा जोड दिएको पनि उल्लेख गरिएको छ ।

ै यस वर्षको सूचीमा राजकुमार ह्यारी दम्पतीका साथै टेनिस स्टार नाओमी ओसाका, गायिका ब्रिटनी स्पियर्स, बिल्ली एलिस, अभिनेत्री केट विन्सलेट, स्कार्लेट जोहान्सन, निर्देशक क्लोए चाओसमेत परेका छन् । त्यस्तै ताइवानी मूलका अमेरिकी अर्बपति जेन्सेन हुवाङ, प्रविधि व्यवसायी एलन मस्क पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट, इरानी राष्ट्रपति इब्राहिम रइसी र रूसका विपक्षी दलका नेता एलेक्सेई नाभाल्नी पनि प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू