अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै युवायुवतीद्धारा माइतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:०० मा प्रकाशित

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माइतीघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रदर्शन गरेका छन् ।आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका युवतीहरुले बलात्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानरसहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए । सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारबाही र पीडितलाई न्याय दिन माग गरिरहेका थिए । उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाइँदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।

देशका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाही नभएपछि त्यसको विरोधमा दोषीलाई कारबाही, पीडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गदै काठमाण्डौमा दिनहुँ प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू