अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

“सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको आरोप भ्रमपूर्ण” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:०४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४औैं वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रसय दिएको र उद्योगी–व्यवसायीलाई विभाजित गर्यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताउनुभएको हो ।

त्यस्ता अभिव्यक्ति सुनेर दुविधामा नपर्नसमेत प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई आग्रह गर्नुभयो । देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी–व्यवसायीहरु राष्ट्रका साझा सम्पत्ति भएको उहाँले बताउनुभयो । सरकारको नजरमा सबै उद्योगी–व्यवसायी समान भएको प्रधानमन्त्रीको भनाइ छ । उहाँले राज्यले सबैलाई कानुनसम्मत् ढंगले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रष्ट पार्नुभयो ।

राज्यले उद्योगी–व्यवसायीहरुसँग सधैं कारोबारमा पारदर्शीता कायम गर्नमात्रै आग्रह गरेकोपनि प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकार राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पुँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्रीको भनाई थियो । कोभिड–१९ का कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाइ परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकार मनको गरिब नभइ आफ्नो क्षमता र गक्षअनुसार उद्यमी–व्यवसायीहरुलाई सघाएको उहाको भनाई छ ।

कार्यक्रममा उद्योगी–व्यवसायीहरुले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका थिए ।बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदासमेत उद्योग–व्यवसायलाई निरन्तरता दिन कठिनाइ भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताउनुभयो । उद्योग–व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू