अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 17:34

जीवन

नवीन मनोहर २०७७ असोज २१ गते १०:१८ मा प्रकाशित

कविता

सुदूर क्षितिजमा
नियाली रहेका तिम्रा ती सजल आँखाहरूमा
मैले जीवनको आभा
भलिभाँती पढेको छु
विन्दुझैँ नील गगनमा देखिने
कावा खाइरहेका ती रजहाँसहरूको जोडी
उड्दैउड्दै आएर
चुच्चामा च्यापेको चारो
परको पहरामा रहेका रहेका बचेरालाई
खुवाएर पुनः चारोकै खोजीमा जानु पनि
जीवनै त हो,

बथानका अघिअघि
थुनेलो भएको थुन
हल्लाउँदै हल्लाउँदै
आवाज भासिएको आवाजले बोलाएर
ह्वाँ गर्दै
रालो लगाएको मूल गाईभन्दा अघिअघि
कराएर आउने लौनो गाईको बडी ल्याङ्ग्वेज नै
जीवनको अर्को तीर्यक परिभाषा हो
पानीमा बगेर
बग्दाबग्दै
बेटुङ्गामा पुगेका
एक हूल माछाहरूबिच
भुँडीमा फुलको अप्रतिम बोझ बोकेर
पानीको वेगसँगै
कहिले वारि
कहिले पारि
चहार्नु पनि जीवनै हो,

जीवन
परिभाषामा अपरिमेय छ
जीवन
भोगाइमा पनि अपुष्ट हुन्छ
जीवनले
जीवनलाई
र जीवनले
भोगाइलाई
समानान्तर रेखामा
जहिले पनि प्रेम गर्दा रहेछन्,

कहिलेकाहीँ
समुद्रका किनारमा बसेर
चोरी औँलाले
बगरका क्यानभासमा
सम्झनाका कुची र मसी प्रयोग गर्दै चित्र बनाउनु पनि
जीवनको जुवामा च्याँखे थाप्नु नै त हो
यसरी जीवनका पहेलीहरू
आउँदा छन्
जाँदा छन्,

म नदीको मझधारमा उभिएर
जीवनलाई लहरलहरमा
हेरिरहेछु
निर्निमेष
अपलक
र झिमिक्क पनि नपारी
मेरा यी दुई नयनहरू ।

 

प्रतिक्रिया