अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

आनन्दको अनुभूति गरौँ

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ वैशाख १७ गते १९:३२ मा प्रकाशित

मेरो यो लेख बुझ्न कठिन हुन सक्छ तर सत्य यही हो कि जीवन अर्काको निम्ति हो । सबैको, मेरो, तिम्रो, हजुरको र सबै- सबैको तर यो अस्थायी प्रकृतिको जीवनमा हामी दम्भ, घमन्ड र अनेक किसिमका भ्रम पालेर बाँचेका हुन्छौँ । संभवत, म पनि अपवादमा पर्दिन ।

हामी जन्मिन्छौँ, स्वाभाविक हो । मृत्यु पनि अवश्यम्भावी छ । शाश्वत सत्य हो निधन ।
तर, हामी क़रीब ३० वर्षको भए पछि बढी घमन्डी हुन्छौँ, खास गरी पुरुषहरू । हाम्रो पितृसत्तात्मक समाजमा त्यस्तै किसिमको परवरिश र वातावरणले पनि प्रभाव पारेको हुन सक्छ । त्यसमा नारीहरू पीडित भएको, आफ्ना सन्तानहरूले कष्ट उठाउनु परेको र अन्ततोगत्वा त्यही पुरुषले दु: ख महसुस गरेका धेरै घटनाहरू छन् जुन मैले व्याख्या गरिरहनु पर्दैन ।

सृष्टिकर्ताले आपसी स्नेह, समझदारी, सहयोग र मानवीय मूल्य र मान्यताहरूलाई शिरोपर गरी बस्नु भन्ने सन्देश हामीलाई छ।
त्यसमा पनि श्रीमान् र श्रीमती त खोजेर पाइँदैन । लेखेको हुन्छ; देखेर पाइन्न भन्ने मान्यता छ । प्रकृति भन्नाले हामी पूजनीय नारिलाई पनि बुझ्छौँ । उनी सृष्टिकर्ता हुन संसारकी पनि । त्यो भार र सहनशीलता पुरुषबाट कदापि सम्भव छैन ।

त्यसोभा किन त यो नारी विभेद व्याप्त छ ?
जवाफ केवल एउटै छ: पुरुष हुनुको दम्भ, घमन्ड र उसको पुरुषजन्य स्वभाव र सीमा ।

अब सुरुवात पुरुषहरूबाटै हुनु पर्छ माया, ममता, स्नेह, करुणा, सहयोग र सदाचारको खेती गर्ने उद्यम । साथीको रूपमा र आफ्नो जीवनको अभिन्न अङ्गको रूपमा ग्रहण गरौँ महिलाहरूलाई पनि ।

आनन्द कसैको पेवा हुनु हुँदैन । यो सबैको साझा तत्त्व हो । कसैले कसैलाई वञ्चित गर्नु हुँदैन । जति बाँड्यो; उति बढ़छन कतिपय ईश्वर प्रदत्त गुणहरू जुन हामीले जन्मैदेखि मुफ्तमा लिएर आएका छौँ । मानवीय प्रेम, सहानुभूति, करुणा, सहयोग, ख़ुशी आदि-इत्यादि जुन तत्त्वहरूका बारेमा मलाई भन्दा हजुर पाठकहरूलाई बढी ज्ञात छ ।

मलाई आश्चर्य लाग्छ माता तीर्थ औँसीमा अथवा ‘मदर्स डे’ ( Mother’s Day) मा मानिसहरू कविता लेखेर र भाषण गरेर अथवा। बुढी माउको फोटो हालेर थाक्तैनन जुन उनकी आमालाई पनि थाहा हुन्न अथवा थाहा भए पनि विश्वास गर्दिनन् । कतिपय आमाहरूलाई त्यो व्यङ्ग्य पनि लाग्छ किनभने ऊ ढोँगी छ वास्तविक जीवनमा ।

मैले सबैलाई एउटै डोकामा राख्न खोजेको हैन । हाम्रो समाजमा कतिपय नारीवादी पुरुषहरू पनि हुनुहुन्छ अथवा महिलाको हक- अधिकारको निम्ति पैरवी गर्नुहुन्छ । ती महान् पुरुषहरूलाई नमन गर्दै म मेरो टोपी खोल्छु तर इमानदारीपूर्वक भन्ने हो भने हामी अधिकांश पुरुषहरू हेपाहा प्रवृत्तिका र अधिकार जमाउने खालकै हुन्छौँ जुन अमानवीय र विभेदमूलक छ । यसको अन्त्य हुनु पर्छ समाज रूपान्तरणको निम्ति ।

मैले उठाउन खोजेको विषय हो समतामूलक नेपाली समाजको जहाँ आनन्दको समान अनुभूति परिवारका सबै सदस्यहरूले गरुन् । महिलाहरू घरभित्रै भयभीत हुनु नपरोस् र कहीँ पनि, कुनै परिवारमा जङ्गी शासन नचलोस् । राजनीति, समाज नीति, अर्थनीति, पारिवारिक नीतिहरूमा महिलाहरूको पनि आवाज मुखरित होस । हरेक निर्णय प्रक्रियामा उनीहरूलाई पनि सहभागी र सहयोगी बनाऊँ किनभने उनीहरू आधा आकाश र ज़मीन पनि हुन ।

सूर्य आफ्ना लागि हैन; चन्द्रमा पनि हैनन् ।
हावा, पानी, पृथ्वी सबै- सबै अरूकै लागि । हजुरको घरमा भएको टेबल, कुर्सी, कम्प्युटर पनि आफ्नो स्वार्थ सिद्धि गर्दैन भने हामी चैँ किन आफ्नै लागि ?

सिंहावलोकन गरौँ !