अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटियो, बिक्री र प्रयोग रोक्न विभागको निर्देशन

हिमालखबर २०७६ चैत २६ गते २२:०९ मा प्रकाशित

औषधि व्यवस्था विभागले अहिले बजारमा बिक्री/ वितरण भइरहेका कतिपय ह्यान्ड स्यानिटाइजर तोकिएको मापदण्ड अनुसारको नभएको भन्दै यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ । साथै, स्यानिटाइजर निश्चित मापदण्ड अनुसारको छ कि छैन भन्ने विवरण हेरेर मात्र खरीद र प्रयोग गर्न सर्वसाधारणलाई सचेत गराइएको छ।

विभागले बुधबार साँझ सूचना जारी गर्दै आवश्यक परिमाणमा अल्कोहल मिसाएर बनाउनुपर्ने ह्यान्ड स्यानिटाइजर मापदण्ड विपरीत रहेको पाएको जनाएको छ। बजारमा मिथानोल जस्तो विषाक्त रसायन मिसाइएका र अल्कोहलको परिमाण तोकिए अनुसार नभएका न्यून गुणस्तरका ह्यान्ड स्यानिटाइजर बिक्री/वितरण भइरहेको भन्दै विभागले त्यसो नगर्न निर्देशन दिएको छ।

विभागका प्रतिनिधिसहित गएको प्रहरीको टोलीले २५ चैतमा मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन र बिक्री÷ वितरण गरेको अभियोगमा उद्योग सञ्चालकलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको थियो। उक्त उद्योगले भक्तपुरको चाँगुनारायणबाट विषाक्त स्यानिटाइजर उत्पादन गरिरहेको भेटिएको थियो। विभागका अनुुसार, स्यानिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहल तथा इथेल र आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने मापदण्ड छ।

मिथानोललाई छालामा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। प्रायः यो रसायन घरमा रङ लगाउँदा रङ पातलोे बनाउन प्रयोग गरिन्छ। नेपाल कायाकल्प उद्योगले भने स्यानिटाइजरको लेवलमा नै मिथानोल मिश्रण गरेको उल्लेख गरेको थियो। पक्राउ परेका उद्योग सञ्चालकलाई प्रहरीले कारबाही अगाडि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू