अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

नेपाली सेनाले मनायो सेना दिवस

बिआरटीनेपाल २०७६ फागुन ९ गते ८:०८ मा प्रकाशित

नेपाली सेनाले आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी नेपाली सेना दिवस मनाएको छ । सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले टुडिखेलको सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभएको थियो ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यता अनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । दिवसको अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाज अन्तर्गत लहरे र एकट्ठा प्रस्तुत गरियो ।

त्यस्तै सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनी र सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा आगलागी नियन्त्रणमा सैन्य कौशलको नमूना अभ्यास पनि प्रस्तुत भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू