अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

विदेशमा नेपाली नारी, सङ्घर्ष र सफलताका कथा: सामाजिक अन्तरक्रिया कार्यक्रम

बिआरटीनेपाल २०७६ फागुन ५ गते १३:२६ मा प्रकाशित

क्यानडा, आउँदै गरेको अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा क्यालगरी क्यानडामा यसै हप्ता एक सामाजिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । आफ्नो मातृभूमि छाडी विदेशमा आएर आफ्नो पेसामा स्थापित हुन साथै पारिवारिक जीवन व्यवस्थापन गर्न महिलाहरूले गर्नुपरेको सुरुवाती सङ्घर्ष र अनुभव साथै सफलताका कथाहरूको आदानप्रदान गर्नु कार्यक्रमको उद्देश्य थियो । नेपलिज कम्युनिटी सोसाइटी अफ क्यालगरी (NCSC) को आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन एनसीएससी महिला संयोजक श्रद्धा जैसवालले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेपाली पाठशालाको सञ्चालक समितिकी सदस्य स्पन्दना केसीले गर्नुभएको थियो ।

विभिन्न पेसामा संलग्न महिलाहरू आफ्नो पेसामा स्थापित हुन कस्ता कस्ता सङ्घर्ष गर्नुपर्‍यो, कस्ता बाधा अड्चनहरूको सामना गर्नुपर्‍यो कति सफलता प्राप्त भयो भन्ने आफ्ना अनुभवहरू सुनाउनु भयो ।

कार्यक्रममा अतिथिकोको रूपमा दुर्गा देउजाले बसाइसराई गरी क्यालगरी आएपछिका सङ्घर्षमय दिनहरूको स्मरण गर्दै परिवार बालबच्चाको व्यवस्थापन, भाषाको समस्या, फरक हावापानी आदि बाधाहरूलाई चिर्दै आज क्लिनिकल नर्स एजुकेटरको रूपमा आफूलाई स्थापित गर्न सकेको प्रेरणादायी कथा सुनाउनु भयो । आफ्नो धैर्यता लगनशीलता र पारिवारिक सहयोगले नै त्यहाँसम्म पुग्न सफल हुन सकेको भन्ने बताउनुभयो ।

अर्का अतिथि पविना भण्डारीले कसरी साना साना बच्चाहरूलाई व्यवस्थापन गर्दै काममा दौडन पर्थ्यो भन्ने कथा सुनाउनु भयो । हामी सधैँ सकारात्मक हुनुपर्छ, ठाउँ र समयानुसार परिवर्तन हुन सक्नुपर्छ । कोसिस गरे महिलाले गर्न नसक्ने भन्ने कुरा छैन भन्ने बिचार व्यक्त गर्नुभयो ।

त्यसै गरी बिभु ओझाले आफू छोरी भएर जन्मेकोमा गर्व गर्छु भन्दै सामाजिक संस्थाहरूमा आबद्ध भई स्वयंसेवकको रूपमा काम गरेर आफूलाई उपलब्धि भएको बताउनु भयो र अरूलाई समेत त्यसो गर्न उत्प्रेरित गर्नुभयो । सफल हुनकोलागि रोजगारदाताले जस्तो खोजेको हो त्यस्तै कथा बनाएर आफूलाई प्रस्तुत गर्नुपर्ने आवस्यकताकोपनि चर्चा गर्नुभयो ।

कार्यक्रममा अर्का सहभागी कविता उपाध्यायले कामको सिलसिलामा कतिपय ठाउँमा भेदभाव पनि हुने गरेको र आफूले कार्यालयमा भोगेको भेदभावको अनुभव सुनाउनु भयो । त्यस्तो अवस्थामा डराउनु हुँदैन र प्रमाणसहित सम्बन्धित निकायमा पेस गरेको खण्डमा त्यस्ता व्यक्तिलाई कारबाही हुन्छ । आफूले त्यस्तो पहल गर्न सफल भएको अनुभव सुनाउनुभयो ।

अर्का सहभागी श्रद्धा रुपाखेतीले आफ्नो कला र सिपलाई चिनेर अगाडी आउँदा सफलता हासिल गर्न कम समय लाग्ने कुरा बताउनुभयो ।

त्यसै गरी नेपाली पाठशाला बोर्ड अफ डाइरेक्टर तथा माउन्ट रोयल युनिभर्सिटीमा कार्यक्रत शर्मिला रानाभाटले नेपालमा एउटा स्थान बनाएर विभिन्न कारणले विदेश आउनुभएका दिदीबहिनी फेरी शून्यबाट सुरु गरेर राम्रो स्थानमा पुगेको देख्दा गर्व महसुस हुने कुरा बताउनु भयो । यसरी नै आफूले जाने बुझेका कुरा आफ्ना अनुभवहरू आदानप्रदान गर्ने, नयाँ आउनु भएका र आउँदै रहनुहुने दिदीबहिनीहरूलाई मार्गदर्शन गर्नु पर्ने, हौसला दिनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसै गरी अर्का सहभागी अल्बर्ट हेल्थ सर्भिसेसमा वैज्ञानिकका रूपमा कार्यरत डा. कमला अधिकारीले नेपालमा साधारण सरकारी स्कुलमा अध्ययन गरी पिएचडीसम्म गर्न सकेको प्रेरणादायी कथा सुनाउनुभयो । आँटेमा गर्न सकिन्छ, असम्भव केही छैन । बाधाहरू समस्याहरू आइरहन्छन्, नअत्तिकन नडराईकन सामना गर्दै अगाडी बढ्न सके सपना पुरा गर्न सकिन्छ भन्ने कुरा बताउनुभयो ।

एनसीएससी बोर्ड अफ डाइरेक्टर कल्पना ढकालले २० वर्षअघि आफू आउँदा गर्न परेको सङ्घर्ष त्यसपछिको सफलताको कथा सुनाउनु भयो । अगाडी आउनु भएका दिदीबहिनीहरूले आफ्नो लगनशीलता र मेहनतसाथ राम्रो छाप पार्न सक्नुभएको हुनाले पछि आउनेहरूलाई रोजगार पाउन सहज भएको कुरा बताउनुभयो । मानिसको जीवनमा सङ्घर्ष हुन्छ, आफ्नो उद्देश्य पुरा गर्न लागिपर्नु पर्छ । साथसाथै आफ्नो समाज कोलागि पनि केही गर्नुपर्छ भन्ने कुरामा वहाँले जोड दिनुभयो ।

कार्यक्रममा सहभागीलाई खानाको व्यवस्थापनमा एनसीएससी अध्यक्ष ध्रुव राई र इभेन्ट कोअर्डीनेटर नारायण भण्डारीले सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू