अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनका लागि अर्को वर्षदेखि काम – पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ माघ २५ गते ६:२६ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मझगाँउ विमानस्थल सञ्चालनका लागि अर्को वर्षदेखि काम सुरु हुने बताउनुभएको छ । शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिकाले आयोजना गरेको विमानस्थल सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विमानस्थल सञ्चालनका लागि थुप्रै सम्भाव्यता रहेकाले पूर्वाधार निर्माणको काम अगाडि बढ्ने बताउनुभएको हो ।

उहाँले विमानस्थलको सम्भाव्यताका बारेमा प्राविधिक टोलीले अध्ययन गरिसकेको बताउँदै १६ सय मिटर रनवे निर्माणका लागि केही जमिन अपुग देखिएपनि त्यसको विस्तारमा कुनै समस्या नभएको उल्लेख गर्नुभयो । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणसँगै दोधारामा सुक्खा बन्दरगाहा बन्ने भएकाले उक्त नाकाबाट भारतसँगै तेस्रो मुलुकका नागरिकसमेत नेपाल भित्रिने सम्भावना रहेको मन्त्री भट्टराईको भनाई थियो ।

कार्यक्रममा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल विस्तारका लागि अपुग भएको जग्गा उपलब्ध भए अर्को वर्षदेखि नै काम अगाडि बढाइने बताउनुभयो । आजै मन्त्री, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक, प्राविधिकलगायतको टोलीले विमानस्थलको अवलोकनसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू