अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

इराकस्थित अमेरिकी दुतावासमा इरान समर्थक मिलिसियाको आक्रमण

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:५८ मा प्रकाशित

इराकको राजधानी बग्दादस्थित अमेरिकी दुतावासमा इरान समर्थक मिलिसियाहरुले आक्रमण गरेका छन्। अमेरिका हालै गरेको भीषण हवाई हमलामा कैयौं सर्वसाधारणको मृत्यु भएपछि आक्रोशित समूहले दुतावासमै हमला गरेको हो। दूतावासको पर्खाल नै भत्काउन थालेपछि अमेरिकी सेनाको टुकडीले अश्रुग्यास प्रहार गरेको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकाले इराक र सिरियामा गरेको बमबारीमा परी आइतबार करिब २५ लडकुको मृत्यु भएको थियो। इराकी सैन्य शिविरमा मिलिसियहरुले रकेट आक्रमण गर्दा आफ्ना निर्माण व्यवसायी मारिएको अमेरिकाले आरोप लगाएको छ। हवाई हमलामा मारिएका लडाकु मिलिसियाहरुको अन्तेष्टिमा जम्मा भएका मानिसहरुले अमेरिकी दुतावासमा हमला गरेका हुन्। अन्तेष्टिमा हजारौं मिलिसिया र इरान समर्थित अर्धसैनिक तथा लडाकुहरु सहभागी थिए। सहभागीहरु इराकी सरकारका कार्यालयहरु र विदेशी दुतावास रहेको ग्रीन जोन भनिने क्षेत्रतर्फ प्रवेश गरेका थिए।

प्रदर्शनकारीहरुलाई इराकी सुरक्षा फौजले सो क्षेत्रमा पस्न दिएको बताइएको छ। त्यस क्षेत्रमा प्रवेश गरेका प्रदर्शनकारीहरु अमेरिकी दुतावास परिसरको बाहिर भेला भएका थिए। काताइव हिज्बुल्लाह र अरु मिलिसिया समूहहरुले अमेरिकी दुतावास बाहिर झण्डा फहराउँदै अमेरिका विरोधी नाराहरु लगाएका छन्। उनीहरुले दुतावास परिसरमा ढुङ्गा प्रहार गर्नुका साथै सुरक्षा क्यामराहरु पनि फुटाइदिएका छन्। दुतावासको पर्खाल नै भत्काउन थालेपछि स्थिति तनावग्रस्त भएको र दुतावास कोरिडोरको ५ मिटर भित्रसम्म प्रदर्शनकारीहरु प्रवेश गरेका थिए।

इराकका लागि अमेरिकी राजदूतलाई उद्दार गरी अन्यत्र लगिएको छ। यता इराकी प्रधानमन्त्री अदेल अब्दुल महादीले अमेरिकी हवाइ हमला इराकको सार्वभौमसत्ताविरुद्ध भएको प्रतिक्रिया दिनुभएको छ । यो हमलापछि अब अमेरिकासँगको सम्बन्धमै पुनर्विचार गर्नुपर्ने प्रधानमन्त्री अब्दुलले उल्लेख गर्नुभयो । इरानले पनि अमेरिकी हवाई आक्रमणलाई आतंकवादको स्पष्ट उदाहरण भनेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू