अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

अमेरिकामा विद्यापति समारोह

विजय थापा २०७६ पुष १ गते २०:४२ मा प्रकाशित

नेपाली तराइयनहरूको संस्था ANTA (Association of Nepalese Terrain in America) ले अमेरिकाको न्यूजर्सीस्थित प्रिन्स्टनमा एक विशेष जमघटका बिच विद्यापति समारोहको आयोजना गरेको छ। नेपालको दोस्रो ठुलो जन समुदायको भाषा तथा संसारकै मधुरतम भाषा मानिने मैथिलीका महाकवि विद्यापतिको सम्झनामा अमेरिकामा विशेष समारोहकै आयोजना गरिएको यो पहिलो पटक हो। समारोहको आयोजनामा MONA (Maithils of North America) को पनि सहकार्य रहेको थियो।

कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका संयोजक तथा एन्टाका नवनिर्वाचित अध्यक्ष अपराजिता मिश्रा झाले विदेशमा आफ्नो संस्कृति तथा पहिचान जोगाउँदै त्यसको प्रवर्द्धन गर्ने हेतुले विगतमा छठ पर्व, होली मिलन उत्सव जस्ता समारोहहरूको आयोजना गर्दै आएकोमा यस पटकदेखि हाम्रा साहित्यिक विभूति तथा विश्वभरिका मैथिली भाषीहरूको पहिचान र गौरवका प्रतीक महाकवि विद्यापतिको स्मृति समारोह आफूहरूले मनाउन थालेको विचार व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ-परिषद् सदस्य धीरेन्द्र प्रेमर्षिले अमेरिका जस्तो ठाउँमा विद्यापतिलाई सम्झेर उनको नाउँमा समारोहको आयोजना गरिनु भनेको हामी जहाँ भए पनि आफ्नो माटोसँग अभिन्न छौँ र आफ्नो देश/परिवेशप्रति सतत चिन्तनशील छौँ भन्ने कुराको द्योतक रहेको बताउनुभयो।

प्राज्ञ प्रेमर्षिले विद्यापतिले आजभन्दा ७ सय वर्षअघि देसिल वयना सबजन मिट्ठाको उद्घोषका साथ आम जनताको पक्षमा क्रान्तिकारी कदम उठाएको उल्लेख गर्दै विद्यापतिकै जन भाषामा लेखन परम्पराको अनुसरण गर्दै तुलसीदास, कबिरदास, मिरा बाइ, सुर दास, भानुभक्त आचार्य जस्ता पछिल्लो समयका महानतम कविहरूले आआफ्नो मातृभाषामा साहित्य-सिर्जना गरेर विशेष सफलता प्राप्त गर्न सकेको बताउनुभयो।

कार्यक्रममा प्राज्ञ प्रेमर्षिले परदेश बस्नेका आफन्तले देशमा भोग्नुपर्ने सकसको कथा गीतमार्फत प्रस्तुत गर्नुभएको भने राममनोहर साह, सुभाष बैठालगायतका सर्जकहरूले विद्यापतिका कविताका साथै आफ्ना रचनाहरू सुनाएर समारोहलाई साहित्यमय बनाउनुभएको थियो।

रेडियो कान्तिपुरको चर्चित कार्यक्रम हेल्लो मिथिलाकी सञ्चालिका रूपा झाले मैथिल अस्मिताको सम्बर्द्धनमा विद्यापतिका रचनाहरूले दिँदै आएको योगदानबारे प्रकाश पार्दै विद्यापतिरचित गीत सुनाउनुभएको थियो। यसै गरी एन्टा अध्यक्ष अपराजिता मिश्र, प्रभा झा, सुधा झा, आर्या झालगायतले विभिन्न गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई मनमोहक तुल्याउनुभएको थियो।

समारोहका दौरान अमेरिकामा मैथिली भाषी समुदायलाई एक सूत्रमा जोड्दै विगतमा अनेकौँ महत्त्वपूर्ण कार्यहरूका शुरुआतकर्ता हेमकान्त मिश्रको असामयिक निधनप्रति शोक व्यक्त गर्दै उहाँलाई MONA का तर्फबाट मिथिला-रत्न उपाधिद्वारा मरणोपरान्त विभूषित गरिएको थियो।

एन्टाका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ धीरेन्द्र प्रेमर्षिलाई नवनिर्वाचित अध्यक्ष झाका सथै वर्तमान अध्यक्ष विजयकुमार सिंह तथा अन्य पदाधिकारीहरू सुभाष बैठा, मोहन यादव, मुकेश कर्ण, राममनोहर साहलगायतले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया